ठाउँ–ठाउँमा पहिरो खसेपछि हलेसी–जयराम सडक अवरुद्ध

खोटाङ, १८ असोज । खोटाङ, १८ असोज । ठाउँ–ठाउँमा पहिरो खसेपछि खोटाङको हलेसी–जयराम सडक अवरुद्ध भएको छ । १७ गते राती परेको अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अन्तरगत हलेसी तुवाचुङ नगरपालिकाभित्र पर्ने हलेसी–जयराम सडक अवरुद्ध भएको हो ।

प्रहरीका अनुसार हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको कदुवा र लाकुरीभञ्ज्याङ, हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारको बाङमा र हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेको खोक्सेली लगायतका ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । अहिले जेसिभि प्रयोग गरेर बडहरेतर्फबाट सडकको पहिरो पन्छाउन थालिएको बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईले बताए । बडहरेबाट च्यास्मीटार हुँदै कदुवासम्मको पहिरो हटाउने तयारी गरिएको छ ।

दशैंका लागि खोटाङ भित्रिदै गरेका यात्रु पहिरोले सडक अवरुद्ध भएपछि कदुवामा रातभर अलपत्र परेका थिए । करिब ३ बजेसम्ममा पहिरो पन्छाइसकेर सडक सुचारु गराइने इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक हेमन्त राईले बताए ।