खोटाङ, २१ असोज । मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङको चखेवाभञ्ज्याङ–सेखुवा खण्ड मर्मत गरिएको छ । भारी वर्षाका कारण हिलाम्मे हुँदा सवारी साधनलाई आवत–जावत गर्न कठिन भएपछि जिल्ला समन्वय समिति खोटाङको समन्वय र नेतृत्वमा मर्मत गरिएको हो । असोज १८ गतेदेखि २० गतेसम्म चखेवाभञ्ज्याङ–सेखुवा खण्डको अधिक समस्या भएको ठाउँमा माटो सहितको ढुंगा रोडा राख्नुका साथै हिलो फालिएको छ । कतिपय ठाउँमा सडकमा जमेको पानी कटाइएको जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले बताए ।
दशैं तिहारमा गाउँ आउने नागरिकलाई लक्षित गर्दै विपद व्यवस्थापन समितिको केही समयअघिको निर्णय अनुसार संयुक्त रुपमा सडक मर्मत गरिएको हो । ६ वर्षअघि कालोपत्रे भइसक्नुपर्ने सडक निर्माण कम्पनी भारत कन्स्ट्रक्सन/मैनाचुली/सिद्धिसाई जेभीको ढिलासुस्तीका कारण अलपत्र परेको हो । चखेवाभञ्ज्याङ–सेखुवा खण्ड साकेला गाउँपालिकाभित्र पर्छ । हाल सो सडकबाट भोजपुरका नागरिक बढी मात्रामा काठमाडौं जाने–आउने गरिरहेका छन् । खोटाङकै नागरिक समेत भोजपुर–धनकुटा हुँदै पुर्वी शहर आउजाउ गर्ने गरेका छन् ।
जिल्ला समन्वय समितिको समन्वयमा साकेला गाउँपालिका, राजनीतिक दल, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजना, सडक डिभिजन हर्कपुर र स्थानीयको सहभागीतामा सडक मर्मत गरिएको हो । सडक मर्मतका क्रममा साकेला गाउँपालिका, सडक विभाग र मध्यपहाडी राजमार्ग आयोजनाको एक–एक वटा जेसिभि प्रयोग गरिएको छ ।
खाल्डाखुल्डीमा हाल्ने ढुंगा रोडा ओसार्नका लागि मध्यपहाडी, व्यवसायी सुदिप ढकाल, युवराज रिजाल र भैरव बस्नेतको टिफर प्रयोग गरिएको छ । यस्तै, साकेला गाउँपालिका र मध्यपहाडीको ट्याक्टर पनि प्रयोग गरिएको जिल्ला समन्वय समितिले जनाएको छ ।
मर्मत गरेर चखेवाभञ्ज्याङ–सेखुवा खण्डको मुख्या समस्या भएको ठाउँको अवरोध खुलाइएको छ । बाँझेच्यानडाँडामा मध्यपहाडीको तीनडाँडादेखि संसारेडाँडा निस्कने छोटो बाटो समेत मर्मत गरिएको छ । सडक मर्मतका क्रममा प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’, जिल्ला समन्वय समिति प्रमुख राई, उप–प्रमुख सुरेश तामाङ, साकेला गाउँपालिकाका उपाध्यक्ष बिर्सिका राई, एमाले नेता रामप्रसाद दंगाल, वडाध्यक्ष हेमन राई लगायत खटिएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की नेतृत्वको सुरक्षा प्रमुख समेत बाँझेच्यानडाँडा पुगेका थिए ।
सडक मर्मत अभियानमा जुटेको टोलीलाई डिभिजन वन कार्यालय, जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, स्वास्थ्य कार्यालय र हलेसी आयल ट्रेड एण्ड सप्लायर्सले ६०० लिटर इन्धन उपलव्ध गराएको छ ।
यस्तै, जिल्ला अस्पताल र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले खाजा खर्च उपलव्ध गराएको छ । स्थानीयले खाना, खाजा खुवाउनुका साथै श्रमदान गरेका छन् ।
भारत कन्स्ट्रक्सन/मैनाचुली/सिद्धिशाहीले २०७५ फागुन ३० गते सम्ममा सम्पन्न गर्ने गरि २०७२ चैत २ गते चखेवाभञ्ज्याङ–सेखुवा खण्ड कालोपत्रेको सम्झौता गरेको थियो । तर म्याद नाघेको ५ वर्ष वित्दा समेत कालोपत्रे नभएपछि पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय सित्खा रामेछापले २०८१ जेठ १४ गते ठेक्का सम्झौता तोडिसकेको छ ।
अदालतले ‘स्टे अर्डर’ दिए पनि निर्माण व्यवसायी हालसम्म काममा नफर्किएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालयले जनाएको छ ।
