खोटाङ, २४ कात्तिक । नेकपा एमाले खोटाङको तीन दिने भेला तथा प्रशिक्षण सम्पन्न भएको छ । एमालेले कात्तिक २२ गते जनसंगठन समन्वय संयन्त्रको भेला तथा प्रशिक्षण, कात्तिक २३ गते सचिवालय बैठक र कात्तिक २४ गते एक दिवसीय प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो । कात्तिक २२ गतेको जनसंगठन समन्वय संयन्त्रको भेला तथा प्रशिक्षण एमाले स्थायी कमिटि सदस्य भानुभक्त ढकालको प्रमुख आतिथ्यतामा गरिएको एमाले खोटाङका प्रचार–प्रसार बिभाग प्रमुख खेमराज राईले जानकारी दिए ।
जनसंगठन समन्वय संयन्त्रको भेला तथा प्रशिक्षण कार्यक्रमले एमाले सम्वद्ध २३ वटा संगठनको अधिबेसन÷सम्मेलन यथाशिघ्र गर्ने, गाउँ तथा वडासम्म संगठन विस्तार गर्ने निर्णय गरेको छ । जनसंगठन समन्वय संयन्त्रको भेला तथा प्रशिक्षण एमाले जिल्ला उपाध्यक्ष कुमार आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।
यस्तै, सचिवालय बैठकले मंसिरमा श्रमशिबिर सञ्चालन गर्ने, पुसभित्र टोल अधिबेसन सम्पन्न गर्ने र चैतभित्र एमालेका सदस्यलाई मोबाईल ‘एप्स’मा जोड्ने कार्ययोजना निर्माण गरिएको प्रचार–प्रसार बिभाग प्रमुख राईले बताए । पुष्पलाल स्मृति भवनमा आयोजित कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य बिशाल भट्टराई, केन्द्रीय सदस्य खगेन्द्र राई र केन्द्रीय सदस्य उषाकला राईले मन्तव्य राखेका थिए । बैठकमा एमाले सचिवालय सदस्य खुसनारायण शैंजुले ‘उद्यमशीलता, उत्पादन र बजारीकरण’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । सचिवालय बैठक एमाले जिल्ला कमिटि अध्यक्ष देवबिक्रम राईको सभापतित्वमा सम्पन्न भएको थियो ।
यस्तै, एमाले संगठन बिभागको आयोजनामा शुभम फाउण्डेसनमा सम्पन्न एक दिवसीय प्रशिक्षण कार्यक्रममा संगठन निर्माण र परिचालनका साथै समसामयिक राजनीतिक परिस्थिति र सरकारको कामका बारेमा पोलिटव्यूरो सदस्य बिशाल भट्टराई, कम्युनिष्ट आचरण र शैलीका वारेमा केन्द्रीय सदस्य खगेन्द्र राई, पार्टीको केही महत्वपूर्ण काम र कार्ययोजनाहरुका वारेमा जिल्ला कमिटि अध्यक्ष देवबिक्रम राई र मोबाइल एप्समा सदस्यता अद्यावधिक सम्वन्धी जिल्ला कमिटि सदस्य बिरेन्द्र मगरले प्रशिक्षण दिएका थिए ।
पोलिटव्यूरो सदस्य भट्टराईको प्रमुख आतिथ्यता एबं संगठन बिभाग प्रमुख सुरेन्द्रकुमार राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य खगेन्द्र राई, उषाकला राई, प्रदेश तथा जिल्ला कमिटिका नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रम बिभागका सचिव बिष्णु उपकोटीले सञ्चालन गरेका थिए ।
