काठमाडौं, २५ कात्तिक । गायक केशव भाबुकको ‘यो जुनि यस्तै भो’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । खोटाङका गायक भाबुकको स्वर, बबी सुव्वा लिम्बुको शव्द र हरी लम्सालको संगीत रहेको म्यूजिक भिडियो ट्वेल्भ नोट्स् नामक युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
‘यो जुनि यस्तै भो’मा १७ वर्षअघिको चलचित्र दर्पणछायाँ चलचित्रका जोडी निरुता सिं र उत्तम प्र्रधानलाई प्रमुख भूमिकामा उभ्याइएको छ । म्यूजिक भिडियोमा यशोदा रुचाल, आलोक अर्याल लगायतको पनि अभिनय देख्न सकिन्छ । मिराज अर्यालको निर्देशनमा बनेको म्यूजिक भिडियोमा एरेन्ज उदयराज पौडेल, रेकर्डिष्ट राजाबाबु चौधरी, मिक्सिङ/मास्टरिङ चन्द्र चौधरी रहेका छन् । म्यूजिक भिडियोमा अभिनेत्री सिंह र अभिनेता प्रधानको जोडीलाई दर्शकले रुचाएको भावुकले बताए ।
सन् २०१७ देखि औपचारिक रुपमा सांगीतिक क्षेत्रमा प्रवेश गरेका भावुकले दर्जनौं आधुनिक, फिल्मी र दोहोरी गीत गाइसकेका छन् । उनका ‘भन को थियो, म मजदुर मायाँको, ए मायाँ, दुख्छ मुटु, फूल फुल्यो, तिम्रो मायाँले, हिन्दी गीत मेरे इस दिलपे’ लगायत दर्शक/श्रोताले रुचाएको गीत हुन् । ‘ए मायाँ’ चलचित्र प्रसाद–२ मा समेटिएको गीत हुन् ।
‘म मजदुर मायाँको’ गीतका लागि केशवले सन् २०२१ मा दुबईका राज परिवारबाट ग्लोवल इन्टरनेशनल अवार्ड तथा ‘छातीभित्र दुख्ने घाउ’का लागि २०२४ मा अप्सना नेशनल फिल्मी अवार्ड पाएका थिए ।
केशवले केही समयपछि मनमाबी राईसँगको सहकार्यमा ‘दुई दिनको जिन्दगीमा चोखो मायाँ लाउँ’ बोलको दोहोरी, अस्मिता अधिकारीसँगको ‘जहाँ फूल’ र सोलो गीत ‘लाहुरे’ बजारमा ल्याउने तयारी गरेको बताए । ‘संगीत व्यापार होईन, साधना हो । अश्लिलता र भाइरलको नाममा हिट हुने शोख छैन,’ केशवले भने, ‘नेपाली गीत, संगीत र इतिहासमा रहिरहने काम गर्नेछु । मेरो सिर्जना भाइरल होईन, सदावहार बनोस् ।’
-भिडियो
