करेन्ट लाग्दा कांग्रेस वडा सभापतिको मृत्यु, कांग्रेसद्धारा दुःख व्यक्त

खोटाङ, २४ बैसाख । करेन्ट लाग्दा खोटाङमा एकको मृत्यु भएको छ । ऐसेलुखर्क गाउँपालिका–७ माक्पाका ४१ वर्षीय विकास राईको मृत्यु भएको हो । बैसाख २३ गते माक्पास्थित ट्रान्सफर्मरबाट करेन्ट लाग्दा राईको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका सेवा करारका कर्मचारी रामकाजी वनको आग्रहमा विद्युत चेक गर्न ट्रान्सफर्मरमा पुग्दा राईको करेन्ट लागेर मृत्यु भएको ऐसेलुखर्क गाउँपालिका अध्यक्ष गिरेन्द्र राईले बताए ।

विद्युत चालु भए/नभएको चेक गर्नका लागि गएका विकासले घण्टौं फोन नउठाए पनि वनले पुःन इन्द्रबिनोद निरौलालाई फोन गरेर ट्रान्सफर्मरमा गएर हेर्न आग्रह गरेका थिए । ट्रान्सफर्मर रहेको ठाउँमा निरौला पुगेपछि मात्रै राईलाई करेन्ट लागेको थाहा भएको हो । मृतक नेपाली कांग्रेसका माक्पा सभापति हुन् ।

ट्रान्सफर्मरमा विद्युत सुचारु भए/नभएको चेक गर्नेक्रममा राईलाई ४–५ बजेकोबिचमा करेन्ट लागेको अनुमान गरिएको गाउँपालिका अध्यक्ष राईले बताए । नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख सोभितबहादुर क्षत्रीका अनुसार ट्रान्सफर्मरमा आउने आवाज सुनेर पनि विद्युत सुचारु भए नभएको थाहा पाउन सकिन्छ ।

वडासभापतिको निधनमा नेपाली कांग्रेस खोटाङले दुःख व्यक्त गरेको छ । कांग्रेस सभापति बिष्णुकुमार राईले बैसाख २४ गते विज्ञाप्ती जारी गर्दै घटनाले सिंगो समाज र समुदायको सशक्त खम्बा ढलेको उल्लेख गरेका छन् ।