विषय थप गर्ने दिक्तेल बहुमुखी क्याम्पसको योजना

खोटाङ, १४ कात्तिक । खोटाङको दिक्तेल बहुमुखी क्याम्पसले विषय थप गर्ने योजना बनाएको छ । कात्तिक १४ गते सम्पन्न क्याम्पसको सातौं साधारणसभामा क्याम्पस प्रमुख कृष्णबहादुर राईले समयअनुकुल आवश्यक विषय थप गर्ने नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । खोटाङकै ज्येष्ठ क्याम्पसमा हाल मानविकी तथा सामाजिक शास्त्र, शिक्षा शास्त्र र व्यवस्थापन संकायको पठन–पाठन भइरहेको छ ।

यस्तै, परम्परागत शिक्षण विधि र साधनहरुलाई हटाउँदै आधुनिक विधि र साधनहरुको प्रयोग गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने, क्याम्पस भर्ना दर बढाउने र ‘ड्रपआउट’ कम गर्ने योजनाहरु बनाउने, विषयविज्ञहरुबाट भौतिक वा भर्चुअल कक्षा सञ्चालनको व्यवस्था गर्ने प्रस्ताव अघि सारिएको छ । यस्तै, कक्षामा उपस्थित हुन नसक्ने विद्यार्थीका लागि क्याम्पसको लर्निङ मेनेजमेन्ट सिस्टमलाई व्यवस्थित गरी भर्चुअल कक्षा सञ्चालन गर्ने, विद्यार्थीको परम्परागत उपलव्धी मापन विधिलाई सुधार गर्ने लगायतका योजना नीति तथा कार्यक्रममा उल्लेख छ ।

क्याम्पस प्रमुख राईले नीति तथा कार्यक्रमसँगै प्रगती प्रतिबेदन प्रस्तुत गरेका थिए । यस्तै, सहायक क्याम्पस प्रमुख हर्कबिर राईले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष दुर्गाजयन्ती राईको अध्यक्षतमा भएको सभा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले उद्घाटन गरेका थिए ।

विभिन्न कक्षामा सर्वाधिक अंक ल्याएर उत्तिर्ण हुने विद्यार्थीलाई क्याम्पस सभाकै अवसरमा प्रशंसा–पत्र प्रदान गरिएको थियो ।