चार श्रष्टालाई मुक्तक प्रतिष्ठान, कोशी प्रदेशको पुरस्कार

विराटनगर, १९ माघ । नेपाल मुक्तक प्रतिष्ठान, कोशी प्रदेशले चार जना श्रष्टालाई पुरस्कृत गरेको छ । प्रतिष्ठानले साहित्य तथा अन्य क्षेत्रमा योगदान पुर्‍याइरहेका चार श्रष्टालाई मुक्तक दिवसको अवसर पारेर पुरस्कार प्रदान गरेको हो ।

प्रतिष्ठानले यस वर्ष १५ हजार रुपैयाँ राशीको नरनाथ–नन्दकुमारी पोखरेल स्मृति पुरस्कार नेपाली साहित्य, समालोचना, अनुवाद र प्राज्ञिक क्षेत्रमा क्रियासिल प्रा.डा. गोविन्दराज भट्टराईलाई प्रदान गरेको छ । यस्तै, १५ हजार रुपैयाँ राशीकै नन्दलाल दाहाल स्मृति साहित्य पुरस्कार नेपाली कविता, समालोचना, वालसाहित्य र अनुसन्धानको क्षेत्रमा क्रियाशील साहित्यकार प्राज्ञ डा. कौशिला रिसाललाई प्रदान गरिएको छ ।

पाँच दशकभन्दा लामो समयदेखि लेखन, सम्पादन र संस्थागत नेतृत्वमार्फत नेपाली वाङ्मयको क्षेत्रमा विशिष्ट योगदान पु¥याएका वरिष्ठ साहित्यकार मधु पोखरेललाई ११ हजार राशीको छमनादेवी रामप्रसाद पोखरेल स्मृति पुरस्कार र नेपाली मुक्तक साहित्यमा समर्पित शिव अधिकारी (इलामे जेठो)लाई ११ हजार राशीकै माधव–नर्मदा पोखरेल स्मृति साहित्य पुरस्कार प्रदान गरिएको छ ।

चार जना श्रष्टाहरुलाई प्रमुख अतिथि प्रा.डा. टंकप्रसाद न्यौपाने, विशेष अतिथि प्राज्ञ विवश पोखरेल, वरिष्ठ साहित्यकारहरू बलराम पोखरेल, प्राध्यापक कविराज न्यौपाने, सरला चापागाई, प्राज्ञ गंगा सुवेदी, पुरस्कार दाताहरू र आयोजक संस्थाका अध्यक्ष बाबुराम पोखरेल लगायतका स्रष्टाहरूले संयुक्त रुपमा पुरस्कारहरू समर्पण गरेका थिए ।

कार्यक्रममा पुरस्कृत श्रष्टा एवं द्रष्टाहरूको व्यक्तित्व र कृतित्वको बारेमा कविहरू विन्दु दाहाल ‘मुकदर्शक’, नानुमैयाँ दाहाल, गोपाल निर्भिक र लक्ष्मी पोखरेलले समीक्षात्मक चर्चा गरे । सचिव मदन भण्डारीले सञ्चालन गरेको कार्यक्रममा कोशी प्रदेशका श्रष्टाहरुको बाक्लो उपस्थिति रहेको थियो ।