
खोटाङ, २१ माघ । जिल्ला प्रहरी कार्यालय खोटाङले प्रहरी जवान मनोज बुढाथोकीलाई पुस महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषणा गरेको छ । हाल हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित अस्थायी प्रहरी पोष्ट राजापानीमा कार्यरत प्रहरी जवान बुढाथोकीलाई पुसभरीको कार्यसम्पादनका आधारमा ‘पोलिस अफ द मन्थ’ घोषणा गरिएको हो ।
गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा काठमाडौं केन्द्रीय कारागारबाट भागेका उदयपुरका मन्दीप राईलाई पक्राउ गरेर पुःन कारागारमै पुर्याउन भूमिका निर्वाह गरेका कारण बुढाथोकीलाई ‘उत्कृष्ट प्रहरी’ घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी प्रकाश बुढाथोकीले बताए ।
गम्भीर प्रकृतिको अपराधमा संलग्न प्रतिवादी राईलाई जवान बुढाथोकी सहितको टोलीले गत पुस ६ गते राजापानीको मंसिरेबाट पक्राउ गरेको थियो । विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गर्दै व्यवसायीक, लगनशील र कर्तव्यनिष्ठ तवरले कार्यसम्पादन गर्ने प्रहरीलाई जिल्ला प्रहरी कार्यालयले ‘उत्कृष्ट प्रहरी’ घोषणा गर्नेगरेको छ ।
