खोटाङ, १५ कात्तिक । खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानीस्थित चिसापानी माबिमा कार्यकाल सकिन लाग्दा समेत व्यवस्थापन समितिले पूर्णता पाउन सकेको छैन । तीन वर्षे कार्यकालका लागि चिसापानी माबिमा २०७९ साल भदौमै अभिभावकमध्येबाट चार सदस्य छानिएको थियो । तर चार सदस्य चयन भएपछि व्यवस्थापन समिति गठन प्रकृया अवरुद्ध छ । लामो रस्साकस्सीपछि अम्बरबहादुर राई, अमृतकुमार राई, रन्जना राई र मिश्रामायाँ राई विव्यास सदस्य छानिएका थिए ।
चार सदस्य छानिएपछि स्थानीय बुद्धिजिवी, शिक्षाप्रेमी, विद्यालयलाई निरन्तर १० वर्षदेखि सहयोग गर्ने वा विद्यालयलाई १० लाख वा सोभन्दा बढी नगद वा जिन्सी सहयोग गरेका व्यक्तीबाट दुई सदस्य मनोनित गर्नुपर्ने शिक्षा ऐनमा व्यवस्था छ । तर विव्यास गठन प्रकृया दुई सदस्य मनोनयनमा पुगेर अड्किएको हो । दुई सदस्य मनोनयन नै हुन नसकेपछि विव्यास अध्यक्ष चयन हुन नसकेको हो ।
व्यवस्थापन समितिका लागि वडाध्यक्ष धनकुमार राई पदेन सदस्य र शिक्षकमध्येबाट पवित्रा भट्टराई शिक्षक प्रतिनिधि चयन भइसकेका छन् । प्रधानाध्यपक स्वतः विव्यासको सदस्य सचिव रहनेछन् । चिसापानी माविमा प्राविधिक र व्यवसायिक विषय पढाइ भइरहेका कारण उद्योग बाणिज्य संघले भुवनकुमार कार्की र खेमराज श्रेष्ठलाई प्रतिनिधि पठाएको छ । तर विव्यास अध्यक्ष चयन नभएका कारण हालसम्म ज्येष्ठ सदस्यका रुपमा वडाध्यक्ष राईले बैठकको अध्यक्षता गर्दैआएका छन् ।
श्रोतका अनुसार अम्बरबहादुर कांग्रेस, अमृतकुमार एमाले, रञ्जना नेकपा एकीकृत समाजवादी र मिश्रामायाँ नेकपा माओवादी केन्द्रनिकट हुन् । थप दुई सदस्य मनोनयन गर्नेक्रममा पनि दलीय रस्साकस्सी चलेका कारण विव्यासले पूर्णता पाउन नसकेको हो । आफुनिकट व्यक्तीलाई सदस्य मनोनयन गराउने र आफ्नो अनुकुलको विव्यास अध्यक्ष बनाउने ध्याउन्नकै कारण विव्यास गठन अनिर्णयको बन्दी बन्न पुगेको हो ।
गाउँपालिकाको केन्द्रमा रहेको चिसापानी माबि जिल्लाकै बढी विद्यार्थी भएको दोश्रो विद्यालय हो । विद्यालयका सूचना अधिकारी शिक्षक बुद्ध अधिकारीका अनुसार कक्षा १२ सम्म पढाइहुँदै आएको माबिमा हाल ७७३ विद्यार्थी अध्ययनरत छन् । चिसापानी माबि २०२० सालमा स्थापना भएको हो ।
