रावा क्याम्पसः महिला र दलित विद्यार्थीलाई ५० प्रतिशत छुट, अन्यलाई २५ प्रतिशत

खोटाङ, २२ कात्तिक । खोटाङको रावा क्याम्पसले महिला तथा दलित विद्यार्थीलाई ५० प्रतिशत छुटमा पढाउने व्यवस्था मिलाएको छ । रावाबेँसी गाउँपालिका–२ खार्पास्थित क्याम्पसले महिला तथा दलित विद्यार्थीलाई वार्षिक शुल्कमा ५० प्रतिशत छुट दिएर पढाउन थालेको हो । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त रावा क्याम्पसमा शिक्षाशास्त्र सङ्कायतर्फ स्नातक तहको पठन–पाठन भइरहेको छ ।

स्नातक तहका सबै वर्षका प्रत्येक विद्यार्थीबाट वर्षमा १० हजार शुल्क उठाउने गरिएको थियो । यस वर्षबाट महिला र दलित विद्यार्थीका लागि पाँच हजार मात्रै शुल्क लिन थालिएको क्याम्पस प्रमुख दिपक पोखरेलले बताए । क्याम्पसले अन्य विद्यार्थीलाई पनि शैक्षिक शुल्कमा २५ प्रतिशत छुट दिएको छ । अन्य विद्यार्थीबाट सात हजार पाँच सय मात्र शुल्क उठाउन थालिएको क्याम्पसले जनाएको छ ।

क्याम्पस व्यवस्थापन समिति अध्यक्ष एवं रावाबेसी गाउँपालिकाका अध्यक्ष फटिककुमार श्रेष्ठको अध्यक्षतामा गत असोव २८ गते बसेको बैठकले विद्यार्थीलाई शैक्षिक शुल्कमा छुट दिने निर्णय गरेको थियो । सो निर्णय अनुसार हाल स्नातक प्रथम वर्ष भर्ना भइरहेका विद्यार्थीले भर्ना शुल्कमा छुट पाइरहेको क्याम्पस प्रमुख पोखरेलले बताए । क्रमशः अन्य तहको शैक्षिक शुल्कमा छुटको निर्णय कार्यान्वयन गर्दै लैजाने क्याम्पसले जनाएको छ ।

२०६५ सालमा स्थापना गरिएको रावा क्यम्पसमा हाल १५७ जना विद्यार्थी अध्ययनरत छन् ।