प्रधानाध्यपकको निधनमा नगरपालिकामा झण्डा झुकाइयो

खोटाङ, २३ कात्तिक । प्रधानाध्यपकको निधनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आधा झण्डा झुकाएको छ । हृदयघातका कारण निधन भएका प्रधानाध्यपक मेघराज धमलाको निधनमा नगरपालिकाले कात्तिक २३ गते आधा झण्डा झुकाएको हो ।

सरस्वती आधारभुत विद्यालय, दिक्तेलका प्रधानाध्यपक धमलाको कात्तिक २१ गते हृदयघातका कारण शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, काठमाडौंमा उपचारको क्रममा निधन भएको थियो ।

अनुशासित, मर्यादित र कर्तव्यनिष्ठ शिक्षकको भूमिका निर्वाह गरेका धमलाको सम्मानमा झण्डा आधा झुकाउने निर्णय गरिएको नगरपालिकाका प्रवक्ता दिनेशकुमार घिमिरेले शोक बक्तव्यमार्फत जानकारी दिएका छन् ।

यस्तै, नगरभित्रका विद्यालय खुलेको दिन शोक धुनसहित एक मिनेट मौन धारण गर्ने/गराउने निर्णय गरिएको नगरपालिकाले जनाएको छ । काठमाडौंबाट खोटाङ फर्कनेक्रममा धमलालाई बाटैमा हृदयघात भएपछि अस्पताल लगिएको थियो ।