काठमाडौं, १ मंसिर । साहित्यकार दीपा राई पुनकी आमा विमला राई साम्पाङलाई ‘मौलशोभा राई आमा सम्मान’ प्रदान गरिएको छ । खोटाङका साहित्यकार डा. पुरण राईले आफ्नो आमाको नाममा स्थापना गरेको ५० हजार राशीको ‘मौलशोभा राई आमा सम्मान–२०८१’बाट साहित्यकार दीपा राई पुनकी आमा विमला राई साम्पाङलाई सम्मान गरिएको हो ।
अनलाईन अभिलेखको आयोजनामा कात्तिक २९ गते नेपाल प्रज्ञाप्रतिष्ठान, काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति एवं वरिष्ठ कवि वैरागी काँईला (तिलविक्रम नेम्बाङ) र प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले विमला राई साम्पाङलाई दोसल्ला ओढाएर नगद र ताम्रपत्र सहित सम्मान प्रदान गरेका हुन् ।
साहित्यकार दीपा राई पुनको जन्मदिनको अवसर पारेर आमा बिमलालाई ‘मौलशोभा राई आमा सम्मान’ प्रदान गरिएको हो । नेपाली साहित्यमा दीपा राई पुनले पुर्याएको योगदानको कदर स्वरूप उनकी आमालाई सो सम्मान दिइएको ‘मौलशोभा राई आमा सम्मान’का संस्थापक डा. राईले बताए । साहित्य, कला, संस्कृति, अर्थ र राजनीतिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तिका आमालाई हरेक वर्ष सम्मान गर्नेगरी डा. राईले यसै वर्ष आफ्नो आमाको नामबाट ‘मौलशोभा राई आमा सम्मान’ स्थापना गरेका हुन् । ‘आमा वा वृद्धालाई सम्मान गर्नुपर्छ’ भन्ने सोच तथा सामाजिक सुरक्षाका लागि सम्मान स्थापना गरेको डा. राईले बताए ।
श्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ संयोजक रहेको पाँच सदस्यीय छनोट समितिले ‘मौलशोभा राई आमा सम्मान’बाट झापाकी बिमलालाई सम्मान गर्ने निर्णय गरेको थियो । कार्यक्रममा कवि वैरागी काँईला, उपसभामुख राना, प्राध्यपक डा. खगेन्द्रप्रसाद लुँइटेल, श्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, साहित्यकार दीपा राई पुन, विजया सुब्बा, नारायणप्रसाद शर्मा, डा. राई लगायतले मन्तव्य राखेका थिए ।
साहित्यकार प्रदीप सापकोटाले सञ्चालन गरेको कार्यक्रममा कोशी प्रदेश सांसद मिना श्रेष्ठ, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टर अध्यक्ष राजेन्द्र केसी, राससका महाप्रबन्धक सिद्धराज राई, कमल ज्ञवाली, योगेन्द्रकुमार राई, मौलशोभा राई आमा सम्मानको कार्यविधि संयोजक देविलाल दाहाल, नेपाल एयरलाइन्सका उपनिर्देशक मुकेशमान प्रधान, साहित्यकार एवं विभिन्न क्षेत्रमा आवद्ध व्यक्तीको उपस्थिति रहेको थियो । कार्यक्रम वैरागी काँईला र उपसभामुख रानाले उद्घाटन गरेका थिए ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा (छापगाउँ) ठेगाना भएका डा. राईको मेरो देशको भूगोल, २०६१ (कविता संग्रह), डायस्पोराः लाहुरे श्रष्टा र कविता, २०६९ (जीवनी र समालोचना), ब्रिटिस गोर्खा सैनिक साहित्यको इतिहास, २०७० (इतिहास र समालोचना), आप्रवासी नेपाली कवितामा अलङ्कारविधान, २०८० (सिद्धान्त र विश्लेषण), लाशमाथिको मानवता, २०८० (नाटक), डरका बिम्बहरु, २०८० (कोभिड डायरी), अस्तु २०८० (कथा संग्रह), वसन्त रितु २०८०, उपन्यास) लगायतका कृति प्रकाशित छन् ।
