दिक्तेलमा फागुन १५, १६ र १७ गते बाँस सम्मेलनको तयारी

खोटाङ, १५ मंसिर । खोटाङको दिक्तेल रुपाकोट मभुवागढी नगरपालिकाले प्रथम राष्ट्रिय बाँस सम्मेलनको तयारी गरेको छ । ‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहा बाँस’ भन्ने नारासहित आगामी फागुन १५, १६ र १७ गते दिक्तेलमा बाँस सम्मेलन गर्न लागिएको हो ।

नगरपालिका, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, बबरमहल, पर्यटन वन तथा वातावरण मन्त्रालय, कोसी प्रदेश र ग्रिन ब्याम्बो क्रियसन, ललितपुरको संयुक्त आयोजनामा बाँस सम्मेलन गर्न लागिएको मंसिर १४ गते आयोजित पत्रकार सम्मेलनमा मेयर तीर्थराज भट्टराईले जानकारी दिए ।

हालसम्म खेर गइरहेको बाँसबाट विभिन्न उपयोगी सामग्री तयार पारेर बजारीकरण गर्दै आम्दानीको श्रोतको रुपमा विकास गर्नका लागि प्रोत्साहित गर्न नगरपालिकाले बाँस सम्मेलन गर्ने निर्णय गरेको हो । बाँसबाट उपयोगी सामग्री तयार पार्ने उद्योग सञ्चालन गरेर स्थानीयलाई स्वरोजगार र समृद्ध बनाउने लक्ष्यमा टेवा पुर्‍याउने प्रयास स्वरुप बाँस सम्मेलन अघि सारिएको मेयर भट्टराईले बताए । बाँस सम्मेलनमा नगरपालिकाका १५ वटै वडाबाट बाँसबाट निर्मित पुराना तथा नयाँ सामग्री संकलन गरेर प्रदर्शनीमा राख्ने जानकारी दिइएको छ । बाँसको संरक्षणले प्राकृतिक संरक्षणमा समेत टेवा पुग्ने मेयर भट्टराईले बताए ।

बाँस सम्मेलनका लागि गत जेठमा काठमाडौंमा भएको भेलाबाट पुर्वविज्ञान तथा प्रविधि मन्त्री गणेश साहको नेतृत्वमा राष्ट्रिय आयोजक समिति गठन गरिसकिएको छ । सो राष्ट्रिय आयोजक समितिसँग समन्वय र सहकार्य गर्नका लागि वन, वातावरण, फोहोरमैला तथा विपद व्यवस्थापन समितिका संयोजक मुगाधन राईको संयोजकत्वमा एक समिति गठन गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।