मिर्गौलाको उपचारका लागि कोपिलालाई १२ लाख संकलन

खोटाङ, ६ मंसिर । मिर्गौलाको उपचार गर्न अस्पताल भर्ना भएका बिरामीलाई १२ लाखभन्दा बढी सहयोग जुटाइएको छ । दुबै मिर्गौला फेल भएपछि टिचिङ अस्पताल भर्ना गरिएका भोजपुरको पौवादुङ्मा गाउँपालिका–२ तिवारीभञ्ज्याङका कोपिला श्रेष्ठको सहयोगार्थ १२ लाख १३ हजार ५३९ रुपैयाँ संकलन भएको हो ।

कोपिलाको परिवारको आर्थिक अवस्था कमजोर भएका कारण हाल कतारमा रहेका अभियान्ता दिलीप श्रेष्ठले ‘कोपिला श्रेष्ठ बचाउ अभियान’ सञ्चालन गरेर उपचार खर्च जुटाइदिएका हुन् । गत कात्तिक २ गतेदेखि मंसिर ४ गतेसम्म सञ्चालन गरिएको अभियानका क्रममा स्वदेश तथा विदेशमा रहेका ४ हजार ३७९ जना दाताबाट सहयोग जुटाइएको अभियान्ता श्रेष्ठले जानकारी दिए । संकलन भएको सहयोग रकम कोपिलाको श्रीमान महेन्द्रबहादुर श्रेष्ठको प्रभु बैंकमा खोलिएको खातामा जम्मा गरिएको छ ।

कोपिलाको दुबै मिर्गौलामा विगत दुई वर्षअघिदेखि समस्या सुरु भएको हो । समस्या बल्झिदै गएपछि टिचिङ अस्पताल, ग्रिनसिटी हुँदै पुःन असोज २१ गतेदेखि टिचिङ अस्पताल भर्ना गरेर उपचारमा राखिएको छ । हाल कोपिलाको डायलासिस भइरहेको छ । केही समयपछि उनको मिर्गौला प्रत्यारोपणको तयारी गरिएको छ । तर करिब २५ लाख खर्च लाग्ने बताइएपछि श्रेष्ठ परिवारले सहयोगका लागि याचना गरिरहेका छन् । मिर्गौला रोगीको उपचार गर्ने खर्च अभाव भएपछि कतारमा रहेका श्रेष्ठले सहयोग अभियान सञ्चालन गरेका हुन् ।

कोपिलाको श्रीमानसहित एक छोरा र एक छोरी छन् । उनलाई सहयोग गर्नका लागि श्रीमान महेन्द्रबहादुरको नाममा प्रभु बैंकमा खोलिएको खाता नम्बर २७९७०३१४९६२०००१८ मा सहयोग जम्मा गर्न सकिने व्यवस्था मिलाइएको छ । कोपिलाको जीवन बचाउका लागि क्यूआरमार्फत पनि सहयोग जम्मा गर्न सकिन्छ ।