
खोटाङ, ११ पुस । खोटाङको केपिलासगढी गाउँपालिकाको कार्यपालिका बैठक ऐतिहासिक स्थल केपिलासगढीमा आयोजना गरिएको छ । गाउँपालिकाको सभाहलमा सञ्चालन हुँदै आएको बैठक यसपटक भने ऐतिहासिक स्थल केपिलासगढीमा आयोजना गरिएको हो । जलवायु परिवर्तनको असर न्यूनिकरण गर्नुपर्ने सांकेतिक अभियान तथा प्रयासको सन्देश प्रवाहका लागि प्रकृतिमा गएर कार्यपालिकाको बैठक सञ्चालन गरिएको हो ।
कंक्रिट सिमेन्टको बन्द कोठाभित्र सोफाको सट्टा प्रकृतिको काखमा बसेर गाउँपालिकाको बैठक सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत सौधन राई (युनिक)ले जानकारी दिए ।
ऐतिहासिक गढी केपिलासगढी गाउँपालिका–४ मा पर्छ । गाउँपालिकाको नाम नै यही गढीको नामबाट राखिएको हो । तर अधिकांश कार्यपालिका सदस्य हालसम्म केपिलासगढी पुगेका थिएनन् । बैठकको माध्यमबाट कार्यपालिका सदस्यलाई ऐतिहासिक केपिलासगढी भ्रमण पनि गराइएको प्रमुख प्रशासकीय अधिकृत राईले बताए ।
कार्यपालिका बैठकमा ऐतिहासिक गढी केपिलासको बारेमा पूर्व प्राध्यपक चतुरभक्त राईले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा केपिलासगढी, यसको ऐतिहासिक पक्ष, यसमा गरिएका प्रयासहरू, अब गरिनु पर्ने कार्य उल्लेख छ ।
चौंरमा म्याट र दुबोमा बसेका जनप्रतिनिधि र कर्मचारीलाई थुन्चेमा बोकेर टपरामा सेलरोटी, अचार र सुठुनी साथै किविको जुस खाजा खुवाइएको थियो ।
केपिलासगढीमा पुरातत्व विभागको परामर्श र डिभिजन वन कार्यालयको सहयोगमा गढीको भग्नावशेष संरक्षण गर्ने, गाउँपालिकाको पहलमा गुराँस लगायतका प्रजातीको बिरुवा रोप्ने काम भएको छ ।
