डेण्टल सेवा थप गर्दै फेमिली केयर अस्पताल

खोटाङ, ११ पुस । खोटाङको दिक्तेलमा सञ्चालित फेमिली केयर अस्पतालले डेण्टल सेवा थप गर्ने तयारी गरेको छ । अस्पतालको पुस १० गते दिक्तेलमा सम्पन्न १३ औं साधारणसभामा केही समयपछि डेण्टल सेवा थप गर्ने तयारी गरेको अस्पताल सञ्चालक समितिका अध्यक्ष जेपी राईले जानकारी दिए ।

अस्पतालको डेण्टल दिक्तेल, संगमटोलका पेशल श्रेष्ठको घरमा सञ्चालन गर्ने तयारी गरिएको छ । डेण्टलका लागि आवश्यक उपकरणहरु राखिसकिएको अध्यक्ष राईले बताए ।

जिल्लावासीलाई आफ्नै गाउँठाउँमा इमरजेन्सी स्वास्थ्य सेवा उपलव्ध गराउने लक्ष्यका साथ काठ्माण्डौं धुम्बाराहीमा रहेको अस्पताललाई २०६७ सालमा दिक्तेल स्थानान्तरण गरिएको हो । फेमिली हेल्थ केयर इन्टरनेशनल एण्ड रिसर्च सेन्टर प्रालिको नामबाट दर्ता भएको अस्पतालले ५० शैयाको स्वीकृति पाए पनि हाल १५ शैयाको वार्ड सञ्चालन गरिरहेको छ ।

अस्पतालको साधारणसभा रुपाकोट होटलमा आयोजना गरिएको थियो । साधारणसभामा वर्ष उत्कृष्ट कर्मचारीको रुपमा सिनियर अहेव चक्रबहादुर राई सम्मानित भएका छन् । अस्पतालले निःशुल्क जग्गा प्रदान गर्ने चन्द्रबहादुर केसी र सिता केसीलाई पनि सम्मान गरेको छ । स्वयंसेवक निर्मला घिमिरे आचार्य, मन्जु पाण्डे आचार्य र सिर्जना घिमिरे आचार्यलाई पनि सम्मान गरिएको अस्पतालले जनाएको छ । जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, बाम्राङका वडाध्यक्ष महेन्द्र राई, उद्योग वाणिज्य संघका अध्यक्ष राजनप्रसाद आचार्य लगायतले उनीहरुलाई सम्मान प्रदान गरेका थिए ।

२०६८ सालमा स्थापना गरिएको फेमिली केयर अस्पताललाई कोशी प्रदेशको पहाडी क्षेत्रभित्र नर्सिङ, अहेव, अनमी लगायतका विषय पढाउने मेडिकल कलेज स्थापनाको लक्ष्यकासाथ स्थानान्तरण गरिएको हो । स्थानान्तरण गरिएको अस्पतालले दिक्तेलमा २०७७ चैतदेखि सेवा सुरु गरेको हो । अस्पतालमा हाल दुई जना एमबिबिएस डक्टरसहित २१ जना कर्मचारी कार्यरत छन् ।

अस्पतालका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मुढेमा रहेको आठ रोपनी जग्गा पास गरिसकिएको छ । मुढेमै ३२ रोपनी जग्गाका लागि बैना दिइसकिएको अध्यक्ष राईले बताए ।
फेमिली केयर अस्पतालले पुस १२ गतेदेखि तीन दिने निःशूल्क आँखा शिविर समेत सञ्चालन गर्ने जनाएको छ ।