वैज्ञानिक समाजवादीमा आहुतीकै निरन्तरता

काठमाडौं, २६ पुस । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालको महासचिवमा आहुतीले निरन्तरता पाएका छन् । काठमाडौंमा पुष १९ गतेदेखि २१ गतेसम्म चलेको प्रथम राष्ट्रिय सम्मेलनले आहुतीलाई महासचिवमा निरन्तरता दिएको हो । आहुती दुई वर्षअघि सम्पन्न राष्ट्रिय भेलाबाट महासचिव चयन भएका थिए । अव दुई वर्षपछि हुने महाधिबेसनबाट भने आहुती वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको महासचिवबाट अनिवार्य बाहिरिने छन् ।

वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको चार वर्षमा एउटा महाधिबेसन गर्ने व्यवस्था छ । वैज्ञानिक समाजवादीले राष्ट्रिय भेला वा सम्मेलनले पनि नेतृत्व परिवर्तन गर्न सक्छ ।

वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीमा ‘एक महाधिबेसन काल’ बाहेक नेतृत्वमा बस्ने व्यवस्था नभएको केन्द्रीय सदस्य राजकुमार हिङमाङले जानकारी दिए । राष्ट्रिय सम्मेलनले आहुतीको नेतृत्वमा ५१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । प्रवक्तामा मदन अर्याललाई चयन गरिएको छ ।

सम्मेलनले नन्दन अर्यालको संयोजकत्वमा ६ सदस्यीय प्रवुद्ध समिति, केन्द्रीय समिति सदस्य, सल्लाहाकार र प्रबुद्ध समिति सदस्य पदेन सदस्य रहने गरी ९९ सदस्यीय केन्द्रीय पुर्णकालिन शिविर, १३ सदस्यीय केन्द्रीय सचिवालय र ५ सदस्यीय केन्द्रीय कार्यालय समेत निर्माण गरेको छ ।
यस्तै, देशको भौगोलिक क्षेत्रलाई १० वटा व्यूरो र एउटा प्रकाशन व्यूरो गरी ११ व्यूरो संयोजक चयन गरिएको वैज्ञानिक समाजवादीले जनाएको छ ।

सम्मेलनले नयाँ युगको नयाँ कम्युनिष्ट आन्दोलन निर्माण गर्ने संकल्पसहित सामानान्तर सत्ताको आर्थिक, राजनीतिक र साँस्कृतीक अभ्यास गर्ने खाकासहितको विधान र प्रतिवेदन पारित गरेको छ ।