खोटाङबाट काठमाडौं जाँदै गरेको टाटा सुमो तोडफोड गर्ने ११ जना पक्राउ

खोटाङ, २६ पुस । खोटाङबाट काठमाडौं जाँदै गरेको टाटा सुमोलाई तोडफोड गर्ने ११ जनालाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले पक्राउ गरेको छ । पुस २४ गते भोजपुरबाट यात्रु लिएर दिक्तेल हुँदै काठमाडौं जाँदै गरेको तुवाचुङ मारातिका यातायात प्रालिको ना १ ज ६१७२ नम्बरको टाटा सुमोलाई काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–२ बेलास्थित बिपी राजमार्गमा तोडफोड गर्ने युवालाई प्रहरीले पक्राउ गरेको हो ।

टाटा सुमो तोडफोड गरेर फरार रहेका काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–१० का राजेश परियार, इन्द्रावती गाउँपालिका–११ का सुनिल माझी, नरेन्द्र माझी, पाँचखाल नगरपालिका–८ का विजय तामाङ, महाभारत गाउँपालिका–३ का छोइकु दोङ, घ्याङेख गाउँपालिका–४ का प्रेम श्रेष्ठ, तेमाल गाउँपालिका–७ का तेन्जिङ तामाङ, दाङ घोराही उपमहानगरपालिका–११ घर भइ हाल बनेपा नगरपालिका–८ बस्ने टेकबहादुर पुन, तेमाल गाउँपालिका–७ का भिसान तामाङ, बेथानचोक गाउँपालिका–६ का सुनिल तामाङ र रोशी गाउँपालिका–१२ का आदेश स्याङतानलाई प्रहरीले पक्राउ गरेको हो ।

तोडफोडमा संलग्न ११ जना विरुद्ध जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट अपराधिक उपद्रव सम्वन्धी कसुर मुद्धामा ७ दिनको म्याद लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रवक्ता सुचना अधिकारी प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए । उनीहरु विरुद्ध चालक केवलबहादुर राईले पुस २५ गते १३ जना विरुद्ध जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक, धुलीखेलमा किटानी जाहेरी दिएका थिए ।

गत असोजको भारी वर्षाका कारण क्षतीग्रस्त हुँदा साँघुरो बनेको सडकमा साइड नदिएको भन्दै युवाको समुहले अपशव्द प्रयोग गर्दै सुमो तोडफोड गरेका थिए । दादागिरी शैलीमा केही युवाले मुड्कीले हान्दा सुमोको झ्याल र अगाडिको शिशा फुटेको तुवाचुङ मारातिका यातायात प्रालिका अध्यक्ष टेकिन्द्र राईले बताए ।

प्रहरीलाई जाहेरी दिनका लागि घट्नास्थलबाट गाडी भगाएर धुलीखेलतर्फ जाने क्रममा धुलीखेल नपुग्दै गाडी बिग्रेको थियो । त्यसपछि यात्रुलाई दुई घण्टा पर्खाएर काठमाडौंबाट झिकाइएको अर्को गाडीमार्फत गन्तव्यमा पु¥याइएको अध्यक्ष राईले बताए ।