‘के हामी साँच्चै जनताको नोकर भयौं त ?’: धिरेन

खोटाङ, २९ पुस । नेकपा माओवादी केन्द्र खोटाङका इन्चार्ज ध्रुब बुढाथोकी (धिरेन)ले गलत काम गर्ने आफ्नै पार्टीका नेताविरुद्ध पत्रकारले लेख्न सक्नुपर्ने धारणा राखेका छन् ।

प्रेस सेन्टर नेपाल खोटाङको पाँचौं जिल्ला अधिबेसन उद्घाटन गर्दै इन्चार्ज बुढाथोकीले पत्रकारलाई ‘राइट टु रिभोलुसन’को विधि प्रयोग गर्न पत्रकारको ध्यानाकर्षण गराएका छन् । ‘राइट टु रिभोलुसनको विधि सबैले प्रयोग गरौं । मैले गलत काम गरेको छु भने प्रेस सेन्टरका साथीहरुले लेख्न सक्नुपर्छ, बोल्न सक्नुपर्छ र जनतालाई मेरो विरुद्धमा सु–सज्जित ढंगले संघर्ष गर्ने वातावरण बनाउनुपर्छ,’ बुढाथोकीले भने, ‘त्यसो भयो भने जनताले चासो र उत्साहका साथ अध्ययन गर्छ र चेतना पनि त्यही ढंगले सुसज्नित गर्छ ।’

बैकल्पिक केन्द्रीय सदस्य समेत रहेका बुढाथोकीले अर्को प्रशंगमा वर्तमान राजनीति व्यवसाय बन्दै गएको टिप्पणी गरे । ‘राजनीति व्यवसाय बन्दैगएको छ । खास राजनीति हुनुपर्ने सेवामुखी हो । हामी पोलीटिकल लिडरलेहरुले गर्नुपर्ने जनताको सेवा हो । हामीले भन्दै आएको पनि जनताको गुलाम हौँ, नोकर हौँ । जनता मालिक हुन्,’ बुढाथोकीले भने, ‘तर यो भन्दै गर्दा के साँच्चै हामी जनताको नोकर बनेका छौँ त ? के साँच्चै जनताको सेवक बनेका छौँ त ? के साँच्चै जनताको गुलाम हौं त ? त्यसो हो भने हामीले खाइरहेको, लाइरहेको, हामीले प्रयोग गरिरहेका साधनहरुको श्रोतचैं के हो ?’

बुढाथोकीले नेता र जनताको जीवनस्तरमा फराकिलो भिन्नता बनेको चर्चा गरेका छन् । ‘हामी मजदुरका नेता भन्छौँ तर मजदुरले बगाको पसिनाको मूल्य थाहा हुँदैन । हामी किसानको नेता भन्छौँ, हलो जोत्दैगर्दा छोडिएको बाँझोलाई राँटो भन्न जान्दैनौं तर मञ्चमा २५–३० हजारको सुट लाएर भाषण गर्छौँ, त्यसका श्रोतहरु कहाँ छन् ? खोजी गरौं त,’ उनले भने, ‘यो हिसावले हेर्दा हामी नोकर हौँ कि होईनौंँ ? गुलाम हौँ कि होइनौँ ? जनता हाम्रो मालिक हो कि होईन ? जनताको जीवनस्तर र हाम्रो जीवनस्तर मिल्छ कि मिल्दैन ? पत्रकारहरुले यो कुराको खबरदारी गर्न आवश्यक छ ।

अधिबेसनले सबिना अछामेको अध्यक्षतामा प्रेस सेन्टरको नयाँ कार्य समिति चयन गरेको छ । उपाध्यक्ष दिनेश राई, सचिवमा ज्ञानेन्द्र बिक, सह–सचिवमा तिलक साम्पाङ, सदस्यमा चित्रकुमार श्रेष्ठ, पुष्कल राई, युवराज राई, नवीन सुनाम, दीक्षा राई र नारदमणी राई सदस्य चयन भएका छन् ।