खोटाङ, १३ माघ । नेकपा एमालेका पोलिटव्यूरो सदस्य बिशाल भट्टराईले ‘धेरै लाईक र कमेन्ट’ पाउनेहरुबाट समाजलाई गैर–जिम्मेवार र अराजकतातर्फ लैजाने काम भइरहेको बताएका छन् ।
माघ १३ गते प्रेस चौतारी नेपाल खोटाङको छैठौं जिल्ला अधिबेसन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पोलिटव्यूरो सदस्य भट्टराईले रबि लामिछाने र बालेन शाहलाई लक्षित गर्दै ‘नकरात्मक’ लेख्नेहरुकै स्टाटसमा लाखौं मान्छेहरुले लाईक र कमेन्ट गर्नेगरेको चर्चा गरेका छन् । ‘काठमाडौंका मेयर बालेन शाहले सिंहदरबारमा आगो लगाउँछु भनेर स्टाटस लेख्नु भो । लाखौं मान्छेहरु लाईक र कमेन्ट गर्छन् । सिंहदरबारमा आगो लगाउँछु वा त्यो देशको हेडक्वाटरमा आगो लगाउँछु भनेर यो दुनियाको कुनै पनि जनप्रतिनिधिले लेख्दैन । त्यो स्तरमा झरेर लेख्नु भो । तर त्यसैमा वाहवाही छ,’ भट्टराईले भने, ‘यो किसिमको गैर–जिम्मेवार काम र अराजकतातर्फ लैजाने काम महत्वपूर्ण भनिएका र सबैभन्दा धेरै लाईक कमेन्ट पाउनेहरुबाट भइरहेको छ । यस कुराले नेपाल बन्दैन ।’
भट्टराईले बदमासी गर्नेहरुको सबैभन्दा ठूलो हाइहाइ भइरहेको बताएका छन् । ‘देश त्याग गरेर, नागरिकता त्याग गरेर, पासपोर्ट त्याग गरेर, आफ्नो परिवार त्याग गरेर विदेश गएर विदेशमा पनि बदमासी गरेर फर्केर आएका मान्छेहरुको सबभन्दा ठूलो हाइहाइ भाका छन्,’ उनले भने, ‘यो किसिमको नकरात्मक कुराले हुन्छ ?’
चौतारीको अध्यक्षमा ठटाल
प्रेस चौतारीको अधिबेसनबाट राजन ठटाल अध्यक्षमा सर्वसम्मत चुनिएका छन् । चौतारीको उपाध्यक्षमा पवन राई, महिला उपाध्यक्षमा अस्मिता खत्री, सचिवमा सन्तोष पौडेल, सह–सचिवमा प्रतिरोध आचार्य र कोषाध्यक्षमा लक्ष्मी अधिकारी चयन भएका छन् ।

सदस्यमा टिवन राई, प्रमेश ढकाल, भुवन कटुवाल, रामप्रसाद राई र प्रेम श्रेष्ठ चयन भएका छन् । प्रेस चौतारीले पत्रकार दिलीप खत्री, दमन राई र केदार मगरलाई सम्मान गरेको छ ।
यस्तै, कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईलाई वधाई तथा शुभकामना–पत्र दिएको छ ।
