राष्ट्रपति रनिङ शिल्डमा दिक्तेल इंलिस बोर्डिङ स्कुल प्रथम

खोटाङ, १५ माघ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा दिक्तेल इंलिस बोर्डिङ स्कुलले प्रथम स्थान प्राप्त गरेको छ । माघ १४ गते सम्पन्न प्रतियोगीतामा १८ स्वर्ण, १८ रजत र १९ कास्य पदक जित्दै दिक्तेल इंलिस बोर्डिङ स्कुलले प्रथम स्थान हासिल गरेको हो ।

प्रतियोगीतामा सरस्वती मावि दिक्तेलले १० स्वर्ण, १० रजत र ११ कास्य सहित दोश्रो स्थान प्राप्त गरेको छ । राष्ट्रपति रनिङ शिल्डको व्यवस्थापक जनजागृति माबि सोल्माले ९ स्वर्ण, ६ रजत र ५ कास्य जित्दै तेश्रो स्थान प्राप्त गरेको छ ।

यस्तै, श्रीमाबि बाँसबोटेले ५ स्वर्ण, ४ रजत र २ कास्य जितेको छ । माउण्ट एभरेष्ट बोर्डिङ स्कुलले ३ स्वर्ण, १ रजत र ७ कास्य, जालपा माबि, जालपाले २ स्वर्ण, १ रजत र १ कास्य हात पारेको छ । चम्पावती माबि बुईपाले २ स्वर्ण र २ कास्य, कालिका माबि नेर्पाले १ स्वर्ण, २ रजत र ५ कास्य, जालपा मावि नुनथलाले १ स्वर्ण, २ रजत र ३ कास्य पदक जितेको छ ।

यस्तै, मनोकामना जनकल्याण माबि निर्मलीडाँडाले १ स्वर्ण, २ रजत र ३ कास्य, हिलसाइड स्याम्पल एकेडेमीले १ स्वर्ण र २ रजत, अन्नपूर्ण मावि बुवालुङले २ रजत र १ कास्य, कालिका मावि खार्मीले १ स्वर्ण तथा ज्योती मावि जालपाले १ रजत जितेको छ ।

प्रतियोगीतामा प्रथम स्थान प्राप्त गर्ने दिक्तेल इंलिस बोर्डिङ स्कुलले रनिङ शिल्ड, मेडल र प्रमाण–पत्र हात पारेको छ । सो रनिङ शिल्ड अर्को वर्ष आयोजक विद्यालयले २१ हजार १११ रुपैयाँमा किन्नुपर्ने छ । दोश्रो र तेश्रो हुने विद्यालयलाई विद्यागत ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिएको व्यवस्थापक जनजागृति माबिका व्यवस्थापन समिति अध्यक्ष सुर्य राईले बताए ।

जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, नगर प्रमुख तीर्थराज भट्टराई, उपप्रमुख बिसन राई लगायतले विजेता विद्यालयलाई पुरस्कार हस्तान्तरण गरेका थिए । प्रतियोगीता माटिकोरे खेलमैदानमा कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले माघ ११ गते उद्घाटन गरेका थिए ।

रनिङ शिल्डमा नगरभित्रका सबै २१ सामुदायीक र ३ वटा संस्थागत माविको सहभागीता रहेको थियो । रनिङ शिल्डमा भलिबल, कबड्डी, एथ्लेटिक्स, मार्सल आर्टतर्फ कराते र तेक्वान्दो प्रतियोगीता गराइएको आयोजक समितिका सदस्य सञ्जयकुमार राईले बताए ।

सहभागी विद्यालयलाई खेलाडी संख्या र दुरीको आधारमा गाडी भाडा उपलव्ध गराइएको छ । जनजागृति माविले ‘जिल्ला तथा प्रदेश स्तरको’ झल्को दिनेगरि राष्ट्रपति रनिङ शिल्डको व्यवस्थापन गरेको थियो ।