खोटाङ: डढेलोले एक विद्यालय सहित नौ घर जले

खोटाङ, ५ चैत । डढेलोले खोटाङमा एक विद्यालय सहित नौ घर जलेको छ । चैत ४ गते सामुदायीक वनमा लागेको डढेलो वस्तीमा छिर्दा हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका कृष्णबहादुर राई, अदमे राई, हिरासेर राई, नगेन्द्र राई, पविन्द्र राई, हिराधन राई, चैनकुमार राई, टंकबहादुर राई र रणबहादुर राईको घर जलेको हो । बाल्सीखोला पाखा सामुदायीक वनमा लागेको डढेलो बाघखोर, च्यानटार, पाँचबैटार र लाङमाका वस्तीमा छिर्दा घर जलेको स्थानीय हर्क राईले जानकारी दिए ।

डढेलोले डढेलोले वालकन्य आधारभुत विद्यालयमा पनि क्षती पुगेको छ । विद्यालयको काठबाट बनाइएको दुईकोठे भवनको अफिस कोठा जलेको छ ।

डढेलोमा कृष्णबहादुरको एउटा व्याउने गाई, दुई वटा बाछी र चार वाटा बाख्रा डढेर मरेको छ । अदमेको ३ वटा र हिरासेरको ३ वटा खसी बाख्रा मरेको छ । यस्तै, छोटाकुमार राईको जंगलमा चराउन छाडिएको १० वटा खसीबाख्रा पनि डढेर मरेको वडाध्यक्ष देबेन्द्र राईले बताए ।

चैत ३ गतेदेखि दाम्लीको नमेल्खाबाट सुरु भएको डढेलो दाम्ली खोला पार गरेर वस्तीमा छिरेको हो । डढेलोमा घर गुमाएर विचल्नीमा परेका पिडितलाई जिल्ला प्रशासन कार्यालय र हलेसी तुवाचुङ नगरपालिकाले राहत वितरण गरिसकेको छ ।

मैतन्जु, रातमाटे र थूम्की क्षेत्रमा अझै पनि डढेलो जारी छ । स्थानीयले डढेलो नियन्त्रणको प्रयास गरिरहेका छन् । डढेलोले डिकुवा खोला मुहान भएको चार वटा खानेपानी आयोजनाको पाइप जल्दा लाङमा, बाघखोर, मैतन्जु र थुम्कीमा पानी आपुर्ती बन्द भएको छ ।