एसइईलाई मध्यनजर गर्दै एक महिने कोचिङ कक्षा सञ्चालन

खोटाङ, ६ चैत । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बडहरेमा एसइईलाई मध्यनजर गर्दै एक महिने निःशुल्क कोचिङ कक्षा सञ्चालन गरिएको छ । आसन्न एसइई परीक्षाको पुर्वतयारीमा नेकपा एमाले वडा कमिटि बडहरेको आयोजनामा कोचिङ कक्षा सञ्चालन गरिएको हो ।

एसइईको तयारी गरिरहेका लक्ष्मी माविका छात्र/छात्रालाई लक्षित गर्दै अंग्रेजी, विज्ञान र गणित विषयको कोचिङ कक्षा सञ्चालन गरिएको हो । अध्यापन गराउने शिक्षकहरुलाई एमाले वडा कमिटिले पारिश्रमिक प्रदान गरेको छ । कोचिङ कक्षामा लक्ष्मी माबिका १८ जना विद्यार्थीको सहभागीता रहेको एमाले हलेसी–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष सुदिप खत्रीले जानकारी दिए ।

लक्ष्मी माविका विद्यार्थीको एसइई परिक्षाको पुर्वतयारीमा आगामी प्रत्येक बर्ष निःशुल्क कोचिङ कक्षा सञ्चालनका लागि एमाले वडा कमिटि अध्यक्ष लालबहादुर खत्री र प्रधानाध्यपक नयनकुमार राईबिच सम्झौता भएको छ ।

एमाले जिल्ला कमिटि लेखा आयोग अध्यक्ष उमेश पौडेल, विव्यास अध्यक्ष बासु दाहाल, शिक्षक अभिभावक संघका अध्यक्ष हरिबहादुर बस्नेत लगायतको उपस्थितिमा सम्झौता गरिएको हो ।