खिदिमा घटनाप्रति नेपाली कांग्रेस खोटाङको ध्यानाकर्षण

खोटाङ, २६ बैसाख । नेपाली कांग्रेस खोटाङले कोशी प्रदेशका भौतिक पुर्वाधार विकास एबं स्वास्थ्यमन्त्री भूपेन्द्र राई र साकेला गाउँपालिका अध्यक्ष रबिप्रकाश राईको समुहबीच भएको विवादप्रति ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेस सभापति बिष्णुकुमार राईले बैसाख २६ गते विज्ञाप्ती जारी गर्दै उक्त घटनाले पार्टी पंक्तिको गरिमालाई धुमिल बनाउन सहयोग पुग्ने उल्लेख गरेका छन् ।

मन्त्री राईले बैसाख २५ गते साकेला गाउँपालिका–३ खिदिमास्थित ढाँडेमा ‘सर्वदलीय, सर्वपक्षीय नागरिकसँग भेटघाट’ कार्यक्रम आयोजना गरेको थिए तर गाउँपालिका अध्यक्ष राईको समुहले असहमती जनाउँदै कार्यक्रममा अवरोधको प्रयास गरेका थिए । दुई पक्षबीचमा झडपको सम्भावनालाई मध्यनजर गर्दै खिदिमामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । सुरुमा तनावको अवस्था सिर्जना भए पनि अन्तीममा सहमतीमा कार्यक्रम गरिएको थियो ।

कांग्रेस सभापति राईले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन पार्टीसँगको समन्वय र सामन्जस्यतामा जिल्लाका विकास निर्माण र जनताका सार्वजनिक सरोकारका कार्यक्रम तय गर्न कांग्रेसबाट निर्वाचित प्रदेश र संघका जनप्रतिनिधिहरुलाई ध्यानाकर्षण गराएका छन् । ‘त्यसो भएमा जिल्लस्थित सम्बद्ध पार्टी सन्यन्त्रले यस्ता कार्यक्रमहरुलाई सुव्यवस्थित र मर्यादित बनाउन सजिलो हुनेछ,’ विज्ञाप्तीमा भनिएको छ, ‘सुरक्षाको नाममा राज्य शक्तिलाई सदैव उपयोग गर्नुको सट्टा पार्टी सन्यन्त्रको सहयोगमा जनताको घरआँगनमा पुगेको शोभनीय हुने र पार्टीको शाख र गरिमा बढ्ने काँग्रेसबाट निवाचित जनप्रतिनिधिहरुलाई निर्देशन दिईन्छ ।’