‘माईतीघर’को छायांकन ४५ प्रतिशत सम्पन्न

इटहरी, २ जेठ । चलचित्र ‘माईतीघर’को हालसम्म ४५ प्रतिशत छायांकन सम्पन्न भएको छ । आगामी दशैँको फूलपातीमा रिलिज गर्ने तयारी सहित निर्माण सुरु गरिएको ‘माईतीघर’को हालसम्म ४५ प्रतिशत छायांकन सम्पन्न भएको हो ।

हाल म्याग्दीको ताकम भन्ने ठाउँमा ‘माईतीघर’को छायांकन भइरहेको छ । १५ दिनको अवधिमा सोचेकोजस्तै छायांकन भइरहेको फिल्मका निर्माता रोहित अधिकारीले बताए । ‘माईतीघरका लागि हल्लाखल्ला भन्दा पनि निर्माणको गुणस्तरमा ध्यान केन्द्रित गरिएको छ,’ निर्माता अधिकारीले भने, ‘अनाबस्यक तामझाम नगरी फिल्मको उत्कृष्ठ कथा, पटकथा, सम्बाद तथा गीत र मेकिङ सँगै कलाकारहरुमा ठूलो लगानी गरिएको छ ।’ दर्शकलाई भरपूर मनोरञ्जन दिन मेहनत गरिएको निर्माता अधिकारीले स्पष्ट पारे ।

रोहित अधिकारी फिल्म्सको चौथो प्रस्तुतिको रुपमा ‘माईतीघर’ फिल्म निर्माण सुरु गरिएको हो । माईतीघरमा अभिनेता धीरज मगर, केदार घिमिरे ‘माग्ने बुढा’, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामा श्री शेर्पा र बुद्धी तामाङ प्रमुख भूमिकामा देखिने छन् । मिलन तामाङको निर्देशनमा निर्माण हुने फिल्ममा रविन शेरचन र धिरज तामाङले समेत लगानी गरेका छन् ।

चन्द्रकुमार दोङको लेखन, सुशन प्रजापतिको छायाङ्कन र रामशरण पाठकको संवादले फिल्मलाई अझ बलियो बनाउने निर्माणपक्षको अपेक्षा छ । फिल्मको कार्यकारी निर्माता ईश्वरी श्रेष्ठ हुन् ।

केही समयअघि मात्रै फिल्मको प्रमुख पात्रमध्ये ‘माग्ने बुढा’को क्यारेक्टर लुक्स सार्वजनिक गरिएको थियो । सो क्यारेक्टर लुक्सका कारण पनि फिल्म प्रतिक्षित हुन मद्धत पुगेको छ ।

आगामी फुलपातीमा ‘जारी २’, ‘बलिदान’, ‘हरिबहादुरको जुत्ता’, ‘महाराजधिराज’ लगायतका फिल्म समेत प्रदर्शनमा आउँदैछन् । तर निर्माता अधिकारीले फिल्म रिलिजको लागि फूलपातीबाट ‘एक ईन्च’ पनि अगाडि पछाडि नसर्ने अडान लिएका छन् । ‘एक हलमा एक शो’ पाए पनि फूलपातीमै माईतीघर ल्याउने अधिकारीको अडान छ ।

‘माईतीघर’का लागि ‘यो हो मेरो प्राण भन्दा प्यारो माईतीघर’ बोलको सदावहार गीतलाई पुनः रेकर्ड गरेर राखिँदैछ जुन गीत भारतीय चर्चित गायिका सन्जिवनीको स्वरमा रेकर्ड गरिसकिएको छ । यस पटक प्रचार–प्रसारमा कुनै कन्जुस्याइँ नगर्ने निर्माताको प्रतिबद्धता छ ।