
काठमाडौं, २ जेठ । खोटाङका गायक मबिन्द्र राईको ‘फूलै पहेँली’ बोलको लोक गीत बजारमा आएको छ । गायक राई र निर्मला घिसिङको स्वर रहेको मौलिक लोकभाका स्वयं राईकै नाममा खोलिएको यु–टुब च्यानलबाट सार्वजनिक गरिएको हो । राई सहितका टिकटक प्रयोगकर्ताले गत असोजमा क्रियट गरेको ‘टिकटक साझा चौतारी’को पहिलो प्रस्तुतीको रुपमा पुरानो लोक लयमा आधारित गीत तयार पारिएको हो ।
हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका गायक राईकै लय र शब्द संकलन रहेको गीतका म्युजिक एरेञ्जर कुमार थापा मगर र मिक्स/मास्टर राजु कार्की छन् । सुरेश पायल राई र मनोज साङसोन राई रेकर्डिष्ट रहेको गीतको प्रोडुसर प्रशान राई, पुर्ण भाट र गजेन्द्र राई छन् ।
राईले दुर्छिमकै साल्तेम्मा, राबु, चुमाखु भञ्ज्याङ, रातमाटे, महादेवस्थान (हलेसी)को कात्तिके लगायतका ठाउँका बुढापाकाले मादल बजाउँदै गाउने पुरानो भाकालाई संकलन गरेर गीत तयार पारेका हुन् । मुन्दुम अध्यता र नछुङ रहेका राईले स्थानीय कृतिबहादुर राई, रोमबहादुर राई, गंगासरी राई, चरीकुमारी राई लगायतलाई श्रोत मानेर गीतको लय र शब्द संयोजन गरेका हुन् । टिकटक ग्रुपमा भेट भएका र चिनजान भएका साथीबीच इतिहास रहने रचनात्मक काम गर्ने योजना अनुसार गीत तयार पारिएको राईले बताए ।
गीत तयार पार्नका लागि टिकटक ग्रुपका २६ जना सदस्यले आर्थिक सहयोग गरेका छन् । ‘हामी केटाकेटी छँदा २०४६/०४७ सालतिर बाजेहरुले गीत गाउनुहुन्थ्यो, अहिले पनि गाइन्छ । त्यही मौलिक लोकभाकालाई समातेर गीत तयार पारिएको हो,’ राईले भने, ‘टिकटक ग्रुप बन्यो । पछि टिकटक रहला नरहला तर टिकटक ग्रुपको उपलव्धीको सम्झनाका लागि पनि गीत बनाउने निर्णय गरेका हौँ ।’
भिडियो-
