
खोटाङ, १४ जेठ । तराईमा पाइने विषालु सर्प पहाड देखिन थालेका छन् । तराईमा पाइने गोमन, करेत, बाघेजस्ता सर्प पछिल्लो समय पहाडमा देखिन थालेका हुन् । तराईमा तातो हावा बढेसँगै विभिन्न प्रजातिका विषालु सर्प पहाडी जिल्लामा उक्लिन थालेका हुन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार पहाडी क्षेत्रमा समेत गर्मी बढ्न थालेपछि तराईका सर्प पहाडमा निस्किएका हुन् ।
उपचारका क्रममा अस्पताल पुगेका बिरामीको ठेगानाको आधारमा पहाडी जिल्लामा तराईका सर्प उक्लिएको पत्ता लागेको हो । विषालु सर्प पहाडतिर समेत उक्लिन थालेकाले सचेत हुनुपर्ने प्रवक्ता बुढाथोकीको भनाई छ ।
डब्लुएचओका अनुसार सर्पको टोकाइबाट नेपालमा वार्षिक तीन हजारको मृत्यु हुन्छ तर, स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार एक वर्षमा सरदर १५० जनाको मृत्यु भएको देखिन्छ । गत वर्ष सर्पको टोकाइबाट १४६ जनाको मृत्यु भएको मन्त्रालयसँग रेकर्ड छ । चालू आव मात्रै सर्पको टोकाइबाट १५० जनाको मृत्यु भइसकेको खबर नयाँ पत्रिका दैनिकले लेखेको छ ।
