
इटहरी, १२ जेठ । छायांकन भइरहेको नेपाली फिल्म ‘माइतीघर’का चर्चित अभिनेता केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’को दोश्रो लुक्स सार्वजनिक भएको छ । हाल म्याग्दीको दरबाङ क्षेत्रमा छायांकन भइरहेको ‘माइतीघर’का चर्चित कलाकार घिमिरेको दोश्रो नयाँ लुक्स सार्वजनिक भएको हो ।
सार्वजनिक भएको लुक्समा ‘माग्ने बुढा’ त्रिशुल र डमरु बोकेको, रुद्राक्षको माला र जटाधारी स्वरूपमा शिवभक्त बाबाको भूमिकामा देखिएका छन् । यसअघि उनको खाटमा बसेर हँसिलो मुहारमा मोबाईल चलाउदै गरेको लुक्स सार्वजनिक भएको थियो ।
‘माग्ने बुढा’को फरक अवतार दर्शकमाझ चर्चा र कौतूहलताको विषय बनेको छ । एउटै फिल्मबाट उनको दुई लुक्स सार्वजनिक हुँदा उनको ‘कस्तो चरित्र छ’ भन्ने विषय प्रतिक्षित बनेको छ ।
फिल्मको छायांकन हिमाली गाउँ ताकम र धारापानीमा सकिएपछि अहिले म्याग्दीको दरबाङस्थित खोला किनारमा भइरहेको निर्माता रोहित अधिकारीले बताए । निर्माता अधिकारीका अनुसार फिल्मको ८० प्रतिशत छायांकन सकिएको छ । फिल्मको एउटा गीत ताकममा छायांकन भइसकेको छ भने बाँकी दुई गीत कास्कीको सिक्लेस र बेगनास तालमा छायांकन हुने तय भएको छ ।
‘माइतीघर’ रोहित अधिकारी फिल्म्सको प्रस्तुति हो, जसका निर्माता रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङ छन् । कार्यकारी निर्मातामा ईश्वर श्रेष्ठ र नीरज कटुवाल रहेका छन् । फिल्मको निर्देशन मिलन तामाङले गरिरहेका छन् । छायांकनको भूमिका सुसन प्रजापतिले निर्वाह गरिरहेका छन् ।
‘माइतीघर’ मा माग्ने बुढासँगै धीरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्धि तामाङ, शिशिर बाङ्देल, युवराज लामा, पुष्कर गुरुङ र रजनी गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेको छ । यसअघि ‘छ मायाँ छपक्कै’, ‘गाजलु’ र ‘फर्की फर्की’ जस्ता सफल फिल्म निर्माण गरिसकेका अधिकारीको यो चौथो प्रोजेक्ट हो । ‘माइतीघर’लाई दशैंको फूलपातीका अवसरमा देशव्यापी रूपमा प्रदर्शनमा ल्याउने तयारी छ ।
