अस्पतालको भवन बनिनसक्दै स्तरोन्नतीको हतारोः रास्वपा

खोटाङ, २१ असार । पुर्वाधार तयार नहुँदै जिल्ला अस्पताल खोटाङलाई ५० शैयामा स्तरोन्नती गर्न लागिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले विरोध जनाएको छ । अस्पतालको ५० शैयाको भवन निर्माणको काम सम्पन्न नहुँदै ५० शैयाको सेवा स्तरोन्नती गर्न लागिएको भन्दै रास्वपाको जिल्ला समितिले असार २१ गते विज्ञाप्तीमार्फत विरोध जनाएको हो ।

हाल १५ शैयाको सेवा सञ्चालन भइरहेको जिल्ला अस्पताललाई ५० शैयामा स्तरोन्नतीका लागि असार २२ गते कोशी प्रदेशका भौतिक पुर्वाधार विकास एबं स्वास्थ्य मन्त्री भूपेन्द्र राईले उद्घाटन गर्ने कार्यक्रम छ । जिल्ला अस्पतालले कार्यक्रममा उपस्थितिका लागि असार १९ गते पत्र पठाए पनि सो कार्यक्रममा उपस्थिति नजनाउने रास्वपाले जनाएको छ । १५ शैयाकै सेवा सुबिधा प्रवाह भइरहने तर घोषणाचैं ५० शैयाको गर्नुको कुनै अर्थ नभएको राष्ट्रिय स्वतन्त्र पार्टी खोटाङका अध्यक्ष मुकुन्दकृष्ण थापाले बताए ।

रास्वपाले जिल्ला अस्पतालको अलपत्र भवन निर्माण सम्पन्न गराउनेतर्फ ध्यान दिनको सट्टा उद्घाटनमा हतारो गरिएको जनाएको छ । उद्घाटन प्रथाको अन्त्य हुनुपर्ने रास्वपाको विज्ञाप्तीमा उल्लेख छ ।

कोशी प्रदेश सरकारको गत जेठ १२ गतेको बैठकले जिल्ला अस्पताल खोटाङलाई ५० शैयामा स्तरोन्नती गर्ने निर्णय गरेको थियो तर वर्ष दिनदेखि भवन निर्माणको काम अलपत्र छ । जिल्ला अस्पताललाई २५ देखि ५० शैयामा स्तरोन्नती गर्ने नेपाल सरकारको नीति तथा कार्यक्रम अनुशार १५ शैयाको जिल्ला अस्पतालका लागि ५० शैयाको भवन निर्माण सुरु गरिएको थियो । तर भवन निर्माणमा निर्माण कम्पनी श्याम सुन्दर/रामसागर/नेपाल फूलबारी जेभी काठमाडौंको चरम ढिलासुस्ती देखिएको छ । ढिलासुस्तीका विरुद्धमा जिल्लाका नेता तथा जनप्रतिनिधि मुकदर्शकझैं बनिरहेका छन् ।