
खोटाङ, २२ असार । जिल्ला अस्पताल खोटाङलाई ५० शैयामा स्तरोन्नतीको शुभारम्भ गरिएको छ । कोशी प्रदेश सरकारको गत जेठ १२ गतेको निर्णय अनुसार १५ शैयाको अस्पताललाई ५० शैयामा स्तरोन्नतीको शुभारम्भ गरिएको हो । असार २२ गते जिल्ला अस्पतालको परिषरमा आयोजित कार्यक्रममा कोशी प्रदेशका भौतिक पुर्वाधार विकास एबं स्वास्थ्य मन्त्री भुपेन्द्र राईले स्तरोन्नतीको शुभारम्भ गरेका छन् ।
२०४८ सालमा स्थापना गरिएको १५ बेडको अस्पताललाई तीन दशकपछि मात्रै ५० बेडको बनाउने कार्य शुभारम्भ गरिएको हो । तामझामका साथ आयोजना गरिएको कार्यक्रमसँगै जिल्ला अस्पतालमा ५० शैयाको सेवा विस्तारको शुभारम्भ भएको छ ।
कार्यक्रममा मन्त्रालयकातर्फबाट मन्त्री राईले जिल्ला अस्पताललाई करिब २८ लाख पर्ने इको डप्लर सहितको यूएसजी मेसिन, औषधिजन्य सामग्री हस्तान्तरण गरेका छन् । जिल्ला अस्पतालमा क्रमशः विशेषज्ञ चिकित्सक, आवश्यक उपकरणको व्यवस्था हुने जिल्ला अस्पताल खोटाङका मेसु डा. रुपेश संग्रौलाले बताए । खोटाङलाई अस्पताल पुग्नका लागि ‘सिरानीमा तीनदेखि चार लाख राख्नुपर्ने’ जिल्लाको रुपमा चिन्ने गरिन्छ ।
यसबीच, भवन लगायतका भौतिक पुर्वाधारको तयारीबिनै जिल्ला अस्पताललाई ५० शैयामा स्तरोन्नतीको घोषणा गरेको भन्दै कतिपयले भौतिक पुर्वाधार विकास एबं स्वास्थ्य मन्त्री राईको आलोचना पनि गरिरहेका छन् । निमन्त्रणा गरिए पनि कार्यक्रममा अधिकांश दलका प्रतिनिधिको अनुपस्थिति रहेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीले त विज्ञाप्ती नै जारी गर्दै कार्यक्रममा उपस्थित नहुने जानकारी दिएको थियो । कार्यक्रम ५० शैयाको भवन उद्घाटन नभै ५० शैयाको सेवा विस्तारको शुभारम्भ गरिएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले बताए ।
जिल्ला अस्पतालको ५० शैयाको भवन निर्माणको काम भने वर्षदिन अघिदेखि अलपत्र परिहेको छ । भवन निर्माणमा निर्माण कम्पनी श्याम सुन्दर/रामसागर/नेपाल फूलबारी जेभी काठमाडौंको चरम ढिलासुस्ती देखिएको छ । सो भवन निर्माणको काम सम्पन्न भएपछि मात्रै अस्पतालको ५० शैयाको सेवा सुविधा प्रवाहले सार्थकता पाउनेछन् । (भिडियो समाचार Views Of Nepal को पेजमा हेर्न सक्नुहुने छ ।)
