प्रशान एलुङ राईको ‘घर हाम्रो सोलुखुम्बु’ सार्वजनिक (भिडियो सहित)

काठमाडौँ, २६ असार । गीतकार तथा निर्देशक प्रशान एलुङ राईको ‘घर हाम्रो सोलुखुम्बु’ बोलको गीत सार्वजनिक गरिएको छ । प्रशानको शब्द, अनिल कोयी राईको पूर्वेली लयमा तयार भएको सोलुखुम्बुको परिचय बोल्ने गीतमा राजेश पायल राई र अन्जु पन्तको स्वर रेकर्ड छ ।

गीतको भिडियोमा कलाकार हरि निरौला ‘कक्रोच’, बबिन राई ‘गल्फने बाजे’, क्रिसला तामाङ, तथा भिमफेदी गाइजका निर्मल लामा र उनको टिमको आकर्षक प्रस्तुति देख्न पाइन्छ । गीत निर्माणमा १५ लाख बढी लगानी भएको निर्माण पक्षको दाबी छ । रोचक के छ भने भिडियोमा काम गरेका गीतकार तथा निर्देशक प्रशान एलुङ राई, कलाकार द्वय हरि निरौला ‘कक्रोच’ र बबिन राई ‘गल्फने बाजे’ सोलुखुम्बुको नेचासल्यानका हुन् । १७ वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका राईले यसअघि ‘दिलैको दरबार’ र ‘साइँली’मा आफ्नो कलात्मक खुबी देखाइसकेका छन् ।

गीतमा सोलुखुम्बुको साबिकको ३४ वटै गाविसको नाम जोडिएको छ । सगरमाथा सहितका हिमालहरू समीपमै देख्न सकिने जिल्ला भएकाले पनि ‘हितैको सोल्टिनी हिमाल हेर्न जाँउ’ शब्दले जोडिएको छ । जिल्लाभित्रको प्राकृतिक सुन्दरता, पर्यटन, संस्कृति, रहनसहन र हिमाली तथा गाउँले जनजीवनलाई गीतको भावमा भेटिन्छ ।

गीतको असार २२ गते काठमाण्डौंको सिटी सेन्टरस्थित बिग मुभिजमा प्रिमियर गरिएको थियो । नेपाल सरकार रक्षा मन्त्री मानवीर राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कोशी प्रदेश सांसद बुद्धिकुमार राजभण्डारी, पूर्व सांसद उत्तम बस्नेत, कांग्रेसका नेता प्रकाशसिंह कार्की लगायत काठमाडौँमा बसोबास गर्दै आएका दुई सय बढी सोलुखुम्बुलेको उपस्थिति रहेको थियो ।

रक्षा मन्त्री राईले सोलुखुम्बुमा कलाकार जन्माउने सल्लेरीमा रहेको अरनिको हललाई स्मरण गर्दै परदेशमा बसेर आफ्नो गाउँ र जिल्लालाई चिनाउने कोसिसको प्रशंसा गरे । ‘साबिकको सोलुखुम्बु जिल्ला र तत्कालीन ३४ गाउँ विकास समितिलाई भावी पुस्तालाई समेत चिनाउने गरी गरिएको कामले म अत्यन्तै खुसी छु,’ उनले भने, ‘गीतकार तथा निर्देशक प्रशान एलुङ राईलाई धेरै धन्यवाद ।’

गीतकार तथा निर्देशक राईले माटोको सुगन्ध छर्ने गीत सार्वजनिक गर्न पाउँदा प्रफुल्ल रहेको प्रतिक्रिया दिए । ‘गीत सुनेका, हेरेकाले स्याबास भन्नुभएको छ, अब हेर्नेले पनि सायद स्याबासी नै दिनुहुन्छ होला,’ उनले भने, ‘त्यो नै एउटा सर्जकको सम्पत्ति हो । गाउँको, मेरो जन्मभूमिको गाथा कहन पाउनु पनि आफ्नो अहोभाग्य हो ।’

सोलुखुम्बुका लेखक तथा सामाजिक अभियान्ता भद्रगोल किरातीका अनुसार यो गित मात्रै नभएर सिङ्गो सोलुखुम्बु जिल्लाकै ‘सोलुखुम्बु–गान’ बनेको छ । भिडियो र गितले बिदेशी तथा आन्तरिक पर्यटकहरुलाई आकर्षणमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ । यो गित सुनेरै सोलुखुम्बु घुम्न जाने पर्यटक भबिस्यमा भेटिने उनले दावी गरेका छन् ।

भिडियो-