
खोटाङ, २५ असार । वर्ष दिनका पार्टीबाट निष्कासित भएका नेपाली कांग्रेस खोटाङका सभापति बिष्णुकुमार राईले आगामी दिन ‘सदैव स्वाभिमानी निष्ठावान खोटाङ्गे कांग्रेसीहरुको साथमा रहने’ बताएका छन् । २०७९ को प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै पार्टीबाट निष्कासनमा परेका राईले फेसबुकमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।
पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै कांग्रेस केन्द्रीय अनुशासन समितिको असार १७ गते बसेको बैठकले राईलाई एक वर्षको लागि कांग्रेसको सदस्यताबाट निस्काशन गर्ने निर्णय गरेको थियो । चुनावी तालमेल र टिकट वितरणमा केन्द्रिय नेतृत्वबाट भएको अन्याय र अपमान विरुद्ध डटेर लागेको चर्चा गर्दै राईले कांग्रेस केन्द्रीय अनुशासन समितिको निर्णयलाई सहर्ष ग्रहण गरेको उल्लेख गरेका छन् । ‘२०७९ सालको गठबन्धनका क्रममा खोटाङ कांग्रेसलाई केन्द्रिय नेतृत्वबाट सुनियोजित ढंगले भएको ठूलो अन्याय र अपमान व्यहोर्नु पर्दा म स्वाभिमानी कार्यकर्ता बिष्णुकुमार राईलाई विल्कुल सह्य हुने कुरो थिएन । त्यसको विरुद्धमा म डटेर लागेकै हुँ,’ असार २५ गते राईले लेखेका छन्, ‘जस बापत केन्द्रले महत्वपूर्ण सम्मान–पत्र पठाएको छ । हार्दिक ग्रहण गर्दछु । म सदैव स्वाभिमानी निष्ठावान खोटाङ्गे काँग्रेसीहरुका साथमा छु, रहनेछु ।’
वर्तमान कांग्रेस कोशी प्रदेशका महामन्त्री भूपेन्द्र राई (भौतिक पुर्वाधार विकास एवं स्वास्थ्य मन्त्री) र कारबाहीमा परेका राईबिच विगत लामो समयदेखि आन्तरिक द्धन्द्ध छ । २०७९ को स्थानीय तहको निर्वाचनदेखि नै दुई नेताबिचको द्धन्द्ध सतहमा आएको थियो । त्यसयता उनीहरुबिच एकले अर्कालाई ‘सिध्याउने’ राजनीतिक युद्ध चल्दै आएको थियो ।
शसस्त्र द्धन्द्धकालमा समेत जिल्ला नछाडेका राई अन्ततः आन्तरिक द्धन्द्धकै कारण पार्टीबाटै निकालिनुपर्ने अवस्थामा पुगेका हुन् । राई विगत ३५ वर्षदेखि कांग्रेसको राजनीतिमा क्रियासिल थिए । पार्टीबाट निष्काशित भएपछि राईप्रति अन्य दलका नेताहरुले समेत सहानुभुति प्रकट गरिरहेका छन् ।
