
खोटाङ, २७ असार । किरात राई साँस्कृतिक कलाकार संघले पाँच जनालाई पुरस्कार र दुई जनालाई सम्मान गर्ने निर्णय गरेको छ । २० औं स्थापना दिवसको अवसर पारेर कलाकार संघले चलचित्र निर्देशक मिलन चाम्स, प्राज्ञ धनु याक्खा, कवि तथा गीतकार शुभ मुकारुङ, गायक तथा संगीतकार कन्काइष्ट राई र गायीका इन्द्रकला राईलाई नगद सहित पुरस्कृत गर्ने तयारी गरेको हो ।
यस्तै, वरिष्ठ गायक तथा संगीतकार सुर्य थुलुङ र सँस्कृतिकर्मी गंगाराज राईलाई सम्मान गर्ने निर्णय गरिएको किरात राई साँस्कृतिक कलाकार संघ केन्द्रीय समितिका महासचिव पदम थुलुङले जानकारी दिए ।
चलचित्र निर्देशक चाम्सलाई युवराज राईले २०७१ सालमा स्थापना गरेको २२ हजार २२२ रुपैयाँ राशीको नरमायाँ–सबिरमान राई भिडियो निर्देशन पुरस्कार प्रदान गर्न लागिएको हो । प्राज्ञ याक्खालाई समाजसेवी मनिकुमार राईले २०६८ सालमा स्थापना गरेको १८ हजार ८८८ रुपैयाँ राशीको हर्कजङ–छलिशोभा किरात कला पुरस्कार प्रदान गर्ने तय गरिएको हो ।
यस्तै, कवि तथा गीतकार मुकारुङलाई चन्द्रजयपाल राईले २०८१ सालमा स्थापना गरेको १५ हजार ५५५ राशीको शिवचन्द्र–डिकशोभा राई उत्कृष्ट रचना पुरस्कार, गायक तथा संगीतकार कन्काइष्टलाई तेजबहादुर राईले २०७० सालमा स्थापना गरेको १५ हजार ५५५ राशीको तेज–तिला किरात रंगीत पुरस्कार र गायीका राईलाई कृषिविज्ञ मदन राईले २०७६ सालमा स्थापना गरेको १५ हजार ५५५ राशीको किरात राई प्रतिभा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको महासचिव थुलुङले जानकारी दिए ।
वरिष्ठ गायक तथा संगीतकार थुलुङलाई स्वयं कलाकार संघले २०८१ सालमा स्थापना गरेको १५ हजार ५५५ राशीको संगीत कोष सम्मान र सँस्कृतिकर्मी राईलाई २०६७ सालमा स्थापना गरिएको १५ हजार ५५५ राशीको साँस्कृतिक सम्मान प्रदान गर्न लागिएको हो ।
हाजिरीजवाफ प्रतियोगीताका संयोजक एवं कलाकार संघका उपाध्यक्ष राई नविनका अनुसार स्थापना दिवसको अवसरमा उदयपुर, ओखलढुंगा लगायतका जिल्लामा हाजिरी जवाफ प्रतियोगीता गर्ने तयारी गरिएको छ ।
