टेम्मामा असोज २७ गतेदेखि पुरुष तथा महिला भलिबल प्रतियोगीताको तयारी

खोटाङ, १६ भदौ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मामा दोश्रो अन्तर वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगीताको तयारी गरिएको छ । ज्यामिरे युवा क्लव र सूर्योद्धय वाल क्लवको आयोजनामा आगामी असोज २७ गतेदेखि भलिबल प्रतियोगीता गर्न लागिएको हो ।

ज्यामिरे खेलमैदानमा सञ्चालन गरिने भलिबल प्रतियोगीतामा पुरुषतर्फ बिजेता र उपविजेता टिमले क्रमशः १ लाख १११ र ७० हजार १११ को साथमा ट्रफी, मेडल र प्रमाण–पत्र पाउने छन् । यस्तै, दुई सेमीफाइनलिष्ट टिमलाई २०/२० हजारको साथमा मेडल र प्रमाण–पत्र प्रदान गरिने प्रतियागीताका संयोजक खेमराज राईले बताए ।

यस्तै, महिलातर्फ विजेता र उपविजेता टिमलाई क्रमशः ५० हजार १११ र ३० हजार १११ को साथमा ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने छ । दुई सेमीफाइनलिष्ट टिमले १०/१० हजारको साथमा मेडल र प्रमाण–पत्र पाउनेछन् । प्रतियोगीताका उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिब्रो, उत्कृष्ट सेटर, अनुसाशित खेलाडी र उत्कृष्ट कोचलाई ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गर्ने आयोजकले जनाएको छ ।

संयोजक राईका अनुसार प्रतियोगीताका लागि असोज २५ गतेदेखि असोज २६ गतेसम्ममा टिम दर्ता गर्नु पर्नेछ । खेल नकआउटको आधारमा खेलाइने छ । प्रतियोगीतामा सहभागी हुने टिमले सम्वन्धित वडाको सिफारिस लिएर जानुपर्ने छ । सहभागी हुने हरेक खेलाडीले सक्कल नागरिकता पेश गर्नुपर्ने क्लवले जनाएको छ ।