
खोटाङ, ५ असोज । ७० मेगावाट क्षमताको दुधकोसी दोश्रो अर्धजलासय जलबिद्युत आयोजनाका लागि लगानी जुटेको छ । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाको देउसा र जुबुको सिमामा बाँध तथा खोटाङको ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीको देम्लीटारमा पावरहाउस रहने दुधकोसी दोश्रोका लागि लगानी जुटाइएको हो ।
आयोजनाका लागि लक्ष्मी सनराइज बैंकको अगुवाईमा एभरेष्ट बैंक र सानीमा बैंकले साढे १० अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएका छन् । बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीइओ) अजयविक्रम शाह र विकासकर्ता दूधकोशी हाइड्रोपावर नेपाल प्रालिका अध्यक्ष कदम केसीले ऋण सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । ऋण लगानी जुटेकाले अब आयोजनाको काम अघि बढ्ने कम्पनीका अध्यक्ष केसीले बताए । सो विद्युत उत्पादनको लागि विद्युत विकास विभागबाट २०७७ असोजमा इजाजतपत्र (लाइसेन्स) लिइएको थियो ।
आयोजनाको कुल अनुमानित लागत १५ अर्ब रुपैयाँ रहेको छ । त्यसमध्ये ७० प्रतिशत बैंकको ऋण र ३० प्रतिशत संस्थापकहरूको स्वपुँजी (इक्विटी) हुने गरी लगानी संरचना बनाइएको छ । काम सुरु गरेको चार वर्षमा सम्पन्न हुने कम्पनीले जनाएको छ ।
सुरुमा थुलुङ दूधकोशी गाउँपालिकामा बाँध बनाएर ५ किलोमिटर हेडरेस (सुरुङमार्ग)बाट ऐसेलुखर्क गाउँपालिकाको जलेश्वरी, देम्लीटारमा पानी खसाएर २३० मेगावाट विद्युत उत्पादन गर्नेगरि प्रक्रिया अगाडि बढाइएको थियो तर अहिले ३ किलोमिटर सुरुङमार्गमार्फत खन्याखर्कमा पानी खसाउने तयारी गरिएको छ । त्यही कारण ७० मेगावाट मात्र विद्युत उत्पादन हुने अध्यक्ष केसीले बताए ।
आयोजनाबाट वार्षिक ४१ करोड ७४ लाख युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ ।
