
काठमाडौं, १८ कात्तिक । वर्तमान सरकारले नेपाली समाजको अन्तर्विरोध हल गर्न नसक्ने आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालले निष्कर्ष निकालेको छ ।
महासचिव आहुतिको संयोजकत्वमा कात्तिक १२ गतेदेखि कात्तिक १५ गतेसम्म काठमाडौंमा सञ्चालन भएको बैठकले सुशीला कार्की नेतृत्वको वर्तमान सरकार ‘वैदेशिक शक्तिहरूद्वारा उभ्याइएको कठपुतली सरकार’ भएकाले नेपाली समाजको आजको अन्तर्विरोध हल गर्न नसक्ने निष्कर्ष निकालेको हो । ‘सुशीला कार्की नेतृत्वको वर्तमान सरकार नेपाली जमिनबाट उम्रिएको सरकार होइन । बरु ‘जेनजी विद्रोह’लाई अपहरण गरी वैदेशिक शक्तिहरूद्वारा उभ्याइएको कठपुतली सरकार मात्र हो,’ प्रवक्ता राजेश्वरी सुवेदीले कात्तिक १७ गते जारी गरेको विज्ञाप्तीमा भनिएको छ, ‘तसर्थ, यसले नेपाली समाजको आजको अन्तर्विरोध हल गर्न नसक्ने निष्कर्ष बैठकले निकालेको छ ।’
वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले ‘जेनजी विद्रोह’ले धुलिसात पारिसकेको दलाल संसदीय पुँजीवाद र संसदीय निर्वाचनको यथास्थितिवादी प्रपञ्चमा देशलाई लैजान खोज्ने प्रवृत्तिका विरुद्ध नयाँ विद्रोहका निम्ति पहल कदमी लिनुपर्ने, ‘जेनजी विद्रोह’पछि सच्चा जेनजीहरूलाई वैदेशिक हस्तक्षेपमार्फत भएका विभिन्न षड्यन्त्र र चलखेललाई चिन्दै ‘जेनजी विद्रोह’को मर्म र भावनालाई तार्किक निष्कर्षमा लैजान लामबद्ध हुन अपील गरेको छ ।
यस्तै, संसदीय व्यवस्थाको विकल्पमा नेपाली मौलिकताको वैज्ञानिक समाजवादी शासकीय स्वरूप, संरचना, मोडेल र खाकालाई देशव्यापी बहसमा लैजाने, आत्मनिर्भर उत्पादन प्रणालीसहित वैज्ञानिक समाजवादी अर्थतन्त्र, राजनीति र संस्कृतिसहित नयाँ युगको नयाँ कम्युनिस्ट आन्दोलनको कार्यदिशामा अघि बढ्ने निर्णय गरिएको छ ।
सो पार्टीले निजी सम्पत्ति र स्वामित्वको विकल्पको रूपमा अघि बढाउँदै आएको ‘सर्वहाराकरण’को सट्टामा ‘कम्युनिस्टकरण’ र ‘सामुदायिकीकरण’को नीतिलाई पार्टीभित्र र समुदायमा लैजाने ठोस कार्यक्रम बनाएको छ जनाएको छ ।
