जालपा माविको चार वटा कोषबाट छात्रबृत्ति तथा पुरस्कार प्रदान

खोटाङ, २२ कात्तिक । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित जालपा माविले चार वटा कोषबाट छात्रबृत्ति तथा पुरस्कार प्रदान गरेको छ । कात्तिक २१ गते कार्यक्रम गर्दै जालपा माविले बुलुङ तामाङ अक्षयकोषबाट कक्षा ८ मा अध्यानरत छात्रा पूर्णीमा तामाङ, प्रियाङ्का चाम्लिङ र कक्षा ७ मा अध्यानरत दीक्षा राईलाई जनही पाँच हजारका दरले छात्रवृत्ति प्रदान गरेको छ ।

यस्तै, मनबर्ण राई बाल प्रतिभा सम्मान कोषबाट कक्षा १० की सिर्जना तामाङलाई पुरस्कार स्वरुप १० हजार प्रदान गरिएको विद्यालयका पुर्वप्रधानाध्यपक हेमबिक्रम राईले बताए । जगसेर राई शिक्षक सम्मान कोषबाट जालपा माविकै निरन्तर मूल्यांकन समितिलाई नगद १० हजार प्रदान गरिएको छ । यस्तै, बीरबहादुर राई–कालीशोभा राई अभिभावक सम्मान कोषबाट कक्षा ३ का छात्र रिदम राईलाई ५ हजार प्रदान गर्नुका साथै रिदमका अभिभावक कञ्चन सुनुवार राईलाई उत्कृष्ट अभिभावक सम्मान प्रदान गरिएको छ ।

सोही कार्यक्रममा संस्थापक अभिभावक चित्रबहादुर तामाङ र चन्दादाता रबिन्द्र राईलाई पनि सम्मान गरिएको विद्यालयले जनाएको छ । सम्मान तथा पुरस्कार वडाध्यक्ष भगेश्वर राईले हस्तान्तरण गरेका थिए ।