
खोटाङ, १० मंसिर । सरकारले ६७० मेगावाटको दूधकोसी जलाशययुक्त जलबिद्युत आयोजनाका लागि वित्तीय व्यवस्थापनको टुंगो लगाउन एसियाली विकास बैंक (एडिबी)लाई आग्रह गरेको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि सारिएको दूधकोसी आयोजनाका लागि वित्तीय व्यवस्थापनको टुंगो लगाउन एडिबीलाई आग्रह गरिएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले आयोजनाको वित्तीय व्यवस्थापन टुंगो लगाउन एडिबीलाई आग्रह गरेका हुन् ।
एडिबीको दक्षिण एसिया विभागका उपमहानिर्देशक सोना श्रेष्ठ, एडिबी नेपाल आवासीय नियोग प्रमुख आर्नोड कुश्वालगायतको टोलीसँग भएको भेटमा मन्त्री घिसिङले वित्तीय व्यवस्थापन धेरै लामो समयदेखि चर्चामा रहेकाले यसलाई तत्काल टुंगो लगाइनुपर्ने बताएका छन् ।
