
खोटाङ, ९ मंसिर । खोटाङमा सञ्चालित सालपा विकास बैंकले आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ । ‘खोटाङको बचत, खोटाङमै लगानी’ भन्ने नारा सहित २०६९ सालमा स्थापना गरिएको सालपा विकास बैंक लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न अनुमति पाएको हो । आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डबाट मंसिर ८ गते अनुमति प्राप्त भएको सालपा बिकास बैंकका अध्यक्ष टंक राईले बताए ।
नेपाल राष्ट्र बैंकबाट ‘ख’ श्रेणीको इजाजत प्राप्त बैंकले आगामी दुई महिनाभित्र बाँडफाँड गरिसक्नेगरी आईपीओ खुलाउने तयारी गरेको छ । आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । आईपीओ निष्कासनका लागि बैंकले गत वैशाख २३ गते बोर्डमा निवेदन दर्ता गरेको थियो । प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्कासन गर्न माग गर्दै बोर्डमा निवेदन दिएको बैंकले जनाएको छ ।
दिक्तेलमा स्थापना गरिएको बैंकले २०६९ साल साउन ३ गतेदेखि बैंकिङ कारोबार शुरु गरेको थियो । ‘जनता बैंकमा होइन, बैंक जनतासम्म जानु पर्छ’ भन्ने अवधारणा सहित कारोबार सुरु गरेको बैंकले उदयपुर, सुनसरी, झापा र मोरङमा कार्य क्षेत्र विस्तार गर्ने तयारी गरिरहेको छ ।
