
उदयपुर, १५ मंसिर । तीन दिनदेखि सुमोसँगै हराएका चालक उदयपुरमा मृत फेला परेका छन् । काठमाडौंबाट उदयपुरको घुर्मी हुँदै कटारी जानेक्रममा मंसिर १३ गते रातीदेखि सुमोसँगै बेपत्ता भएका ललितपुर महालक्ष्मी नगरपालिका–९ का ३८/३९ वर्षका दिपेन्द्र केसी मंसिर १५ गते मृत फेला परेका हुन् । ना १ ज ५८१२ नम्बरको टाटा सुमो लिएर एक्लै हिँडेका केसी सिद्धिचरण लोकमार्ग अन्तरगत घुर्मी नजिकै पाखेमारा भन्ने ठाउँमा मृत फेला परेको ट्राफिक प्रहरी पोष्ट घुर्मीले जनाएको छ ।
काठमाडौंबाट घुर्मी पुगेर सिद्धिचरण लोकमार्ग हुँदै कटारीतर्फ जानेक्रममा केसी दुर्घटनामा परेका हुन् । सडकबाट करिब पाँच सय मिटर तल खसेको सुमो क्षतीग्रस्त अवस्थामा भेटिएको छ । केसीको शव पनि क्षतबिक्षत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । नजिकै कुनै बस्ती नभएको ठाउँबाट राती १२ बजेको समयमा सुमो भीरउँदो खसेको अनुमान गरिएको छ ।
