
खोटाङ, १८ मंसिर । खोटाङको दक्षिणी क्षेत्र र उदयपुर जोड्ने सुनकोसीस्थित बंशिलाघाटमा बेलिब्रिज राख्न सुरु गरिएको छ । खोटाङको बराहपोखरी गाउँपालिका–५ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका–१ चौदण्डीगढीको सिमानामा पर्ने सुनकोसीको बंशिलाघाटमा बेलिब्रिज जडान सुरु गरिएको हो ।
बंशिलाघाटमा पक्की पुल निर्माणको काममा चरम ढिलासुस्ती भइरहेको अवस्थामा कोशी प्रदेश अन्तरगत भौतिक पुर्वाधार विकास मन्त्रालयले अस्थायी बेलिब्रिज राख्न सुरु गरेको हो ।
नदीमा पानीको बहाव बढ्न थालेपछि आगामी जेठमा निकालेर राख्नेगरी बेलिब्रिज जडान सुरु गरिएको भौतिक पूवाधार विकास कार्यालय खोटाङका प्रमुख सिनियर डिभिजन इन्जिनियर बिनम दाहालले बताए । ५१.८१ मिटर लामो र ४.१ मिटर चौंडाई भएको बेलिब्रिज पुस पहिलो सातासम्ममा जडान गर्नेगरी काम थालिएको छ ।
गुरुकुल विल्डर्स एण्ड सप्लायर्स प्रालि, रौतहटले मुल्याअभिबृद्धि करसहित ५७ लाखमा बेलिब्रिज जडान गर्ने ठेक्का पारेको हो ।
