
काठमाडौं, २१ मंसिर । गीतकार श्रीराम राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ बोलको गीत सार्वजनिक भएको छ । खोटाङ घर भइ हाल काठमाडौंमा संघर्षरत राईको गीतको अडियो ओसियन म्यूजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । सो गीतमा गायिका पेमा शेर्पा राईको स्वर र संगीतकार ओमप्रकाश राईको संगीत रहेको छ ।
गीतको एरेञ्ज सन्तोष प्रगाढ राई, इडिट वीरेन्द्र भाट, विपिन र मिक्सिङ गोविन्द सोनीले गरेका छन् । गीतमा मायाँले पारेको चोट र टाढिए पनि ‘फूल जस्तै हाँसीखुसी रहनु’ भन्ने आत्मीय भाव प्रस्तुत गरिएको गीतकार राईले बताए ।
गीतकार राईको यो तेस्रो गीत हो । यसअघि राईका दुई गीत वटा बजारमा आइसकेको छ । २०७५ सालमा शिला खनालको स्वरमा ‘मधुमासमै मिठो साथ छुटेपछि रोएँ’ र २०७९ सालमा मनमा बी राईको स्वरमा ‘सञ्चो छौ बिसञ्चो’ बोलको गीत रेकर्ड भएको थियो । ‘सञ्चो छौ बिसञ्चो’लाई २०८१ सालमा नवराज पराजुलीले पनि गाएका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ सिर्जनाकुञ्ज, दोर्पाका गीतकार राई साहित्य र पत्रकारितामा पनि क्रियासिल छन् । उनका ‘पोलेको मकै’ (२०७८) र ‘टोली नेता’ (२०७४) बालकथा संग्रह प्रकाशित छन् ।
‘लघुकथा सौन्दर्य’ मार्फत लघुकथाको विधागत उन्नयनमा लागेका गीतकार राईका ‘आजका लघुकथा’ (२०७४) र ‘संयोग’ सामुहिक लघुकथा संग्रह पनि प्रकाशित छन् । उनको संयोजन तथा विमल भौकाजीको सम्पादनमा हालै ‘बलेँसी’ सामुहिक लघुकथा संग्रह पनि प्रकाशित छ ।
रावासावा प्राज्ञिक समाज नेपालका सचिव रहेका राई लघुकथा समाज नेपाल शाखा खोटाङका पहिलो अध्यक्ष पनि हुन् ।
