खोटाङका दुई वडाबाट दुई/दुई जना उम्मेदवार

खोटाङ, १२ माघ । खोटाङका दुई वडाबाट दुई/दुई जना उम्मेदवार उठेका छन् । केपिलासगढी गाउँपालिका–१ फेदी र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाबाट दुई/दुई जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका हुन् । फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फेदीबाट नेपाली कांग्रेसका बीरकाजी राई र श्रम संस्कृति पार्टीका आरेन राई उम्मेदवार बनेका छन् ।

यस्तै, बुईपाबाट नेकपा एमालेका देवबिक्रम राई र जनता समाजवादी पार्टीका राकेश राई उठेका छन् । एकै वडाबाट दुई/दुई जना उम्मेदवार उठेपछि वडामै मत बाँडिने देखिएको छ । उम्मेदवारसँग नजिकको साईनो सम्वन्ध भएका मतदातालाई भने भोट हाल्नका लागि निर्णय गर्न कठिन भएको चर्चा चल्न थालेको छ ।

एक मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा दुई स्वतन्त्र सहित १५ उम्मेदवार उठेका छन् । मुख्या निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट अर्थशास्त्री एवं राजनीतिक विश्लेषक हरि रोका, रास्वपाबाट रुद्र गिरी, उज्यालो पार्टीसँग सहकार्य गरेको राष्ट्रिय परिवर्तन पार्टीबाट मिरेस राई, नेकपा (माओवादी)बाट केन्द्रीय सदस्य चन्द्रबहादुर बुढाथोकी ‘शैलेस’, जसपा नेपालबाट जिल्ला अध्यक्ष सुनिल चाम्लिङ, राप्रपाबाट दिपक तामाङ, मंगोल नेशनल अर्गनाइजेसनबाट प्रयाग राई, नेमकिपाबाट ध्यानप्रसाद ढकाल र मितेरी पार्टी नेपालबाट केशरमान चाम्लिङ उम्मेदवार छन् ।

स्वतन्त्रबाट डा. राजकुमार राई र तिलकचन्द्र राई चुनावी मैदानमा छन् ।