युवाको लहरले बदलियो सत्ता: अब नयाँ नेतृत्वको अग्निपरीक्षा

– देबराज तामाङ 

जापान, २७ फागुन । हालै सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय सफलता हासिल गर्दै देशको प्रमुख राजनीतिक शक्तिको रूपमा आफूलाई स्थापित गरेको छ । प्रत्यक्षतर्फ १२५ सिट जित्दै र समानुपातिकतर्फ करिब ५० लाख मत प्राप्त गर्दै मिलेको यो जनसमर्थनलाई धेरैले नेपालको राजनीतिमा आएको ठूलो परिवर्तनको संकेतका रूपमा हेरेका छन् ।

लामो समयदेखि नेपाली राजनीति पुराना दलहरूको प्रभावमा रहँदै आएको थियो । तर यस पटक मतदाताहरू, विशेषगरी युवाहरूले नयाँ विकल्प खोज्दै पुराना दलहरूलाई छोडेर नयाँ, शिक्षित र सक्षम नेतृत्वलाई समर्थन गरेका छन् । युवाहरूको जागरण र सक्रियताले नै यो ऐतिहासिक परिणाम सम्भव भएको धेरैको बुझाइ छ । यो परिवर्तन केवल चुनावी परिणाम मात्र होइन, हजारौं युवाहरूको संघर्ष, आशा र विश्वासको परिणाम पनि हो । देश परिवर्तन हुनुपर्छ भन्ने सोचका साथ धेरै युवाहरूले सामाजिक सञ्जाल, अभियान र जनचेतनामार्फत नयाँ विकल्पको पक्षमा आवाज उठाएका थिए । यही युवाशक्तिको जागरणले आजको यो परिणाम सम्भव बनाएको हो ।

जनताले विश्वास गरेर राष्ट्रिय स्वतन्त्र पार्टीलाई बलियो समर्थन दिएका छन् । अब त्यो विश्वासलाई कायम राख्दै जनताप्रति जवाफदेही भएर काम गर्नु पर्ने ठूलो जिम्मेवारी पनि आएको छ । पारदर्शिता, सुशासन, भ्रष्टाचारविरुद्धको अभियान र विकासमुखी राजनीतिलाई व्यवहारमा उतार्न सके मात्र जनताको अपेक्षा पूरा हुन सक्छ । यस सफलतामा पार्टीका सभापति रवि लामिछानेको नेतृत्व महत्वपूर्ण मानिएको छ । साथै युवा नेता बालेन शाहको भूमिका पनि यस निर्वाचनमा विशेष रूपमा चर्चामा रहेको छ । बालेन शाह यसअघि काठमाडौं महानगरपालिकाका स्वतन्त्र मेयरका रूपमा ऐतिहासिक मतसहित निर्वाचित भएका थिए । उनले पछि उक्त पदबाट राजीनामा दिँदै यसपटकको संघीय निर्वाचनमा सहभागी भएका हुन् ।

यस निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन शाहलाई प्रधानमन्त्रीको सम्भावित उम्मेदवारका रूपमा अघि सारेर चुनावमा गएको थियो । युवामाझ रहेको उनको लोकप्रियता, परिवर्तनको चाहना र नयाँ राजनीतिक धाराको अपेक्षाले पनि यस पटकको परिणाममा सकारात्मक प्रभाव पारेको धेरैको धारणा छ । यस पटक निर्वाचनमा लामिछाने निकट तथा बालेन निकट मानिएका धेरै उम्मेदवारहरूले पनि जित हासिल गरेका छन् ।

अब चुनाव जित्नु मात्र पर्याप्त छैन, अब सरकार गठनको चरण बाँकी छ । सरकार बनाउने क्रममा कसलाई मन्त्री बनाउने भन्ने विषयमा दलभित्र विवाद नहोस् भन्ने जनताको अपेक्षा छ । आफ्नो निकट वा समूहका आधारमा मन्त्री बनाउने भन्दा पनि जुन व्यक्ति जुन क्षेत्रमा योग्य छ, त्यसै अनुसार जिम्मेवारी दिइयो भने काम गर्न सहज हुने सरकार पनि बलियो बन्ने विश्वास गरिएको छ । योग्यताको आधारमा जिम्मेवारी बाँडफाँट गरियो भने मात्र सरकार प्रभावकारी बन्न सक्छ । सरकार बलियो भयो भने देशको विकास पनि द्रुत गतिमा अघि बढ्न सक्छ भन्ने आशा जनताले गरेका छन् ।

म अहिले जापानमा छु, र म जस्तै सयौं हजार नेपाली युवा रोजगारी र भविष्यको खोजीमा विदेशमा छन् । त्यसैले अब नयाँ नेतृत्वले देश बाहिर रहेका युवाहरूको अवस्था पनि बुझ्न आवश्यक छ । विदेशिएका युवाहरूलाई स्वदेशमै फर्काउने, रोजगारी सिर्जना गर्ने र देशमै अवसर दिने स्पष्ट योजना तथा कार्यक्रम ल्याउनु आजको आवश्यकता हो । यदि देशमै काम गर्ने वातावरण बनाइयो भने धेरै नेपाली युवाहरू विदेशबाट फर्केर देशको विकासमा योगदान दिन तयार छन् ।

साथै अर्को महत्त्वपूर्ण कुरा पनि बिर्सनु हुँदैन । हिजोका दलहरूलाई पुराना भन्दै आज यो दललाई नयाँ भनिएको छ । तर समयसँगै आजको नयाँ दल पनि भोलि पुरानो हुन सक्छ । त्यसैले जनताको विश्वास कायम राख्ने, निरन्तर सुधार गर्दै अघि बढ्ने र जनताको अपेक्षा पूरा गर्ने काम सधैं जारी राख्नुपर्छ । अन्यथा भोलिका दिनमा फेरि अर्को नयाँ विकल्प लिएर अर्को शक्ति जनतामाझ आउन सक्ने सम्भावनालाई नकार्न सकिँदैन ।

त्यसैले यो परिणाम केवल चुनावी जित मात्र होइन, जनताको स्पष्ट सन्देश पनि हो – अब राजनीतिमा काम देखिनुपर्छ । यो पटक बनेको सरकार केवल पार्टीको सरकार मात्र नभई जनताले प्रत्यक्ष महसुस गर्न सक्ने जनताको सरकार बन्न सकोस् ।