
काठमाडौं, २७ फागुन । काठमाडौंमा साहित्यकार पारिजातको ९२ औं जन्मजयन्ती मनाउने तयारी गरिएको छ । पारिजात स्मति केन्द्रको आयोजनामा फागुन ३० गते पारिजात स्मृति भवन, म्हेपी, नयाँबजारमा पारिजातको जन्मजयन्ती मनाउने तयारी गरिएको हो ।
पारिजातको जन्मजयन्तीको अवशसरमा पारिजातको प्रतिमामा माल्यार्पणसँगै पारिजात सम्मान पाउने व्यक्तिहरुको नाम घोषणा गरिने पारिजात स्मृति केन्द्रका कोषाध्यक्ष तथा रत्न राज्य क्याम्पसका उप–प्राध्यापक डा. विन्दु शर्माले बताए । सोही अवसरमा प्राध्यपक डा. वासुदेव त्रिपाठी र डा. महेश मास्केबीचमा पारिजात परिसंवाद सँगै पारिजात स्मारिका लोकार्पण गर्ने कार्यक्रम छ । पारिजात स्मृति केन्द्रले फागुन ३० गतेको दिनलाई ‘पारिजात जन्मजयन्ती’को रुपमा मनाउँदै आएको छ । वास्तविक नाम बिष्णुकुमारी वाइवा भए पनि उनी साहित्यमा पारिजातको नामले परिचित छन् ।
विक्रम संवत १९९० साल फागुन ३० गते जन्मिएका पारिजातको २०५० साल बैसाख ५ गते निधन भएको थियो । पारिजातको शिरिषको फूल, महत्ताहीन, तोरीबारी, बाटा र सपनाहरु, बैसका मान्छे लगायतका कृति प्रकाशित छन् ।
