पारिजात सम्मान पाउने प्रतिभाको नाम घोषणा

काठमाडौं, २ चैत । पारिजात स्मृति केन्द्रले पारिजात सम्मान २०८२ बाट सम्मानित हुने प्रतिभाको नाम घोषणा गरेको छ । साहित्यकार पारिजातको ९२ औं जन्मजयन्तीको अवशरमा फागुन ३० गते पारिजात सम्मानबाट सम्मानित हुने चार जना प्रतिभाको नाम घोषणा गरिएको हो ।

पारिजात स्मृति केन्द्रका अनुसार बालसाहित्यकार रामबाबु सुवेदीलाई पारिजात बालसाहित्य सम्मान, गीतकार तथा सङ्गीतकार शरद पौडेललाई पारिजात कला सम्मान, नवीन विभासलाई पारिजात सृजन सम्मान र देवी खड्कालाई पारिजात सङ्घर्षशील महिला सम्मान प्रदान गर्ने घोषणा गरिएको छ । जनही २५ हजार राशी सहितको सम्मान पारिजातको स्मृति दिवसको अवसरमा आगामी बैसाख ५ गते प्रदान गर्ने पारिजात स्मति केन्द्रका महासचिव दिलसुन्दर श्रेठले जानकारी दिए ।

पारिजातको जन्मजयन्तीको दिन ‘प्राध्यपक डाक्टर वासुदेव त्रिपाठीसँग महेश मास्के पारिजात परिसंवाद’ गरिएको छ । पारिजात स्मृति केन्द्रले पारिजातको जन्मजयन्तीको अवसरमा हरेक वर्ष पारिजात परिसंवाद कार्यक्रम गर्दै आएको छ । पारिजात स्मृति भवन, म्हेपी, नयाँबजारमा पारिजातको ९२ औं जन्मजयन्ती मनाइएको हो ।

विक्रम संवत १९९० साल फागुन ३० गते जन्मिएका पारिजातको २०५० साल बैसाख ५ गते निधन भएको थियो । पारिजातको शिरिषको फूल, महत्ताहीन, तोरीबारी, बाटा र सपनाहरु, बैसका मान्छे लगायतका कृति प्रकाशित छन् । वास्तविक नाम बिष्णुकुमारी वाइवा भए पनि उनी साहित्यमा पारिजातको नामले परिचित छन् ।