
खोटाङ, ४ चैत । खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा हेलीकोप्टर दुर्घटना भएको छ । चैत ४ गते काठमाडौंबाट बालाबेँसी पुगेर ल्याण्ड गर्नेक्रममा एयर डाइनेष्टिक हेलीकोप्टर दुर्घटनामा परेको हो । सुरुमा बारीको डिलमा बसेको हेलीकोप्टरलाई पुःन उठाएर अलि बिचमा सार्न खोज्दा हेलीकोप्टर जमिनमा जोतिदै उछिट्टिएर माथिल्लो गर्हामा पुगेको जानकारी आएको केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईले बताए । उछिट्टएको हेलीकोप्टर क्षतविक्षत भएको देखिन्छ ।
युकेमा फागुन ५ गते मृत्यु भएका मनलक्षी राईको शवलाई दाहसंस्कार गर्न गाउँ आएका मृतक परिवार चढेको हेलीकोप्टर दुर्घटनामा परेको खार्ताम्छाका वडाध्यक्ष मिलन राईले बताए । शव प्याक गरिएको बाकस हेलीकोप्टरमा नअटेपछि मृतक परिवार मात्रै गाउँ आएका थिए । शवलाई भने गाडीमार्फत गाउँ पु¥याउने व्यवस्था मिलाइएको वडाध्यक्ष राईले बताए ।
दुर्घटनामा पाइलट तथा डाकमणी राई, उनका छोरा बालकुमार राई, छोरी लक्ष्मी राई र आफन्त सम्झना राई सकुशल छन् । काठमाडौंबाट उनीहरुसँगै आएका पास्टर काजीबहादुर राई घाइते भएका छन् । घाइतेलाई अर्को हेलीकोप्टर ल्याएर काठमाडौं लगिएको छ ।
