
खोटाङ, ४ चैत । महिना दिनअघि युकेमा खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छा बालाबेँसीकी मनलक्षी राईको मृत्यु भयो । मनलक्षीको शवलाई युकेबाट गाउँमा लैजाने र सदगद गर्ने पारिवारिक योजना बन्यो ।
चैत ३ गते शवलाई काठमाडौं ल्याइयो र चैत ४ गते हेलीकोप्टरमार्फत गाउँ लैजाने तयारी गरिए तर हेलीकोप्टरमा कफन बक्स अटेन । चार्टर गरिएको हेलीकोप्टरमा नअटेको कफनलाई एम्बूलेन्समार्फत गाउँ पुर्याउने व्यवस्था मिलाइयो । त्यसपछि मृतक परिवार सहित पाँच जनाको टोली हेलीकोप्टरमा चढे । शवलाई काठमाडौंमै छाडेर उँडेको तिनै एयर डाइनेष्टि हेलीकोप्टर बिहान ११ बजेर ५१ मिनेटमा बालाबेँसीमा दुर्घटनामा परेको छ ।
हेलीकोप्टरमा सवार मनलक्षीका श्रीमान डाकमणी राई, छोरा बालकुमार राई, छोरी लक्ष्मी राई र आफन्त समला राई सशुकल रहेको खार्ताम्छाका वडाध्यक्ष मिलन राईले बताए । पाइलट सविन थापा पनि सकुशल छन् । डाकमणी पुर्व यूके लाहुरे हुन् । उनीहरुसँगै सवार ललितपुर घर भएका पास्टर काजीबहादुर राई घाइते भएका छन् । क्रिस्चियन धर्म अनुसार अन्तिम संस्कार गर्नका लागि पास्टरलाई पनि साथमा लगिएको थियो । दुर्घटनामा घाइते राई र पाइलट थापालाई अर्को हेलीकोप्टर मगाएर काठमाडौं लगिएको छ । एम्बुलेन्समार्फत शवलाई गाउँमा पुर्याउने र चैत ५ गते दाहसंस्कार गर्ने मृतक परिवारको तयारी थियो ।
बालाबेसीमा बारीमा ल्याण्ड गर्नेक्रममा अनियन्त्रित भएको हेलीकोप्टर जमिनमा जोतिदै उछिट्टिएर माथिल्लो गर्हामा पुगेको थियो । उछिट्टएको हेलीकोप्टर क्षतविक्षत भएको छ । दुर्घटनाको कारण खुल्न बाँकी छ ।
