हैदरावादमा ज्यान गुमाएका तिलकको घरबाट खर्च पठाएर दाहसंस्कार

खोटाङ, १४ चैत । पैसा कमाउनका लागि भारतको हैदरावाद पुगेकाबेला गाडीको ठक्करबाट ज्यान गुमाएका खोटाङका एक युवाको घरबाट खर्च पठाएर दाहसंस्कार गरिएको छ । रोजगारी खोज्दै हैदरावाद पुगेकाबेला गाडीको ठक्करबाट ज्यान गुमाएका खोटेहाङ गाउँपालिका–७ खोटाङबजार भँडारेका २५ वर्षीय तिलक परियारको हैदरावादमै दाहसंस्कार गरिएको हो ।

रोजगारीका लागि हैदरावाद पुगेको हप्ता दिन नवित्दै गाडीले ठक्कर दिँदा गम्भीर घाइते भएका परियारको चैत ११ गते मृत्यु भएको थियो । घरबाट दुई पटकगरि २८ हजार खर्च पठाएपछि परियारको विद्युतीय शवगृहमा दाहसंस्कार गरिएको स्थानीय अगुवा अमरसिं बस्नेतले बताए । हैदरावादमै रहेका आफन्तहरु भेला भएर १६ हजार भारतीय रुपैयाँ खर्च गरेर परियारको दाहसंस्कार गरेका हुन् ।

चैत ५ गते हैदरावाद पुगेका तिलक चैत ६ गते गाडीको ठक्करबाट गम्भीर घाइते भएका थिए । गान्धी अस्पताल, सेकन्दरावादमा उपचारका क्रममा तिलकको मृत्यु भएको हैदरावादमा रहेका आफन्तले जानकारी दिएका थिए । होटलमा काम गर्नका लागि भन्दै तिलक गाउँकै सन्तोष परियार र कृष्ण परियारको साथमा चैत २ गते भारततर्फ हिँडेका थिए । विपन्न आर्थिक अवस्थाका तिलक र सन्तोष निर्वाचन प्रहरीको जिम्मेवारी पुरा गरेर फर्किएपछि हैदरावादतर्फ गएका थिए । तर काम नपाउँदै तिलकले ज्यान गुमाएका हुन् । सँगै गएका सन्तोष र कृष्ण चैत १३ गते हैदरावादबाट घरतर्फ हिँडेका छन् । उनीहरु रोजगारी दिलाउने भन्दै भारत लैजाने ठेकेदार पछ्याउँदै हैदरावाद पुगेका थिए ।

तिलक घरका दुई छोरामध्ये कान्छो छोरा हुन् । उनीहरुका पाँच जना दिदीबहिनी छन् । श्रीमतीसँग अलग्गिएर बसिरहेका उनका पाँच वर्षका छोरा छन् । हैदरावादतर्फ हिँडेकै दिन तिलकको घर हावाहुरीले क्षतीग्रस्त बनाइदिएको छ । खोटेहाङ गाउँपालिकाबाट दर्जनौं युवा रोजगारी खोज्दै हैदरावादमा जानेआउने गरेका छन् ।