‘किमजोङ’ सहित खोटाङका तीन युवा काठमाडौंबाट पक्राउ

खोटाङ, २१ चैत । गुण्डागर्दीमा संलग्न भएको आरोपमा प्रहरीले खोटाङका तीन युवालाई काठमाडौंबाट पक्राउ गरेको छ । राजधानीका विभिन्न क्षेत्रमा भएको गुण्डागर्दीमा संलग्न भएको भन्दै प्रहरीले खोटाङका तीन सहित १८ युवालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा खोटाङको ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलका ‘किमजोङ’ भनिने सुरेश गुरुङ, ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलका संजिव राई र केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका राहुल राई लगायत छन् ।

प्रहरीले चलाएको ‘अपरेशन सेफ्टी काठमाडौं’ अन्तरगत उनीहरुलाई अपराध अनुसन्धान कार्यालय र प्रहरी परिसर काठमाडौंले चैत २० गते राती पक्राउ गरेको हो । अपराध अनुसन्धान कार्यालयले १३ जना र जिल्ला प्रहरी परिसले ५ जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले गुण्डागर्दीमा संलग्नहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ ।